हेटौंडाः विष्फोटक पदार्थ पटाका र लागूऔषध गाँजासहित मकवानपुरका ६ जना बारा जिल्लामा पक्राउ गरेका छन् । पटाकासहित पक्राउ पर्ने ३ जना हेटौंडा–१५ का छन् भने लागूऔषधसहित पक्राउ पर्ने राक्सिराङ गाउँपालिकाका छन् ।

नेपाल–भारत सीमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको फेटा गाउँपालिका–३ मा सुरक्षाजाँच गर्ने क्रममा भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा सवार हेटौंडा–१५ का ३४ बर्षीय बुद्ध लोप्चन, ३२ बर्षीय राजकुमार लोप्चन र २५ बर्षीय बुद्ध लोप्चनलाई मंगलबार साँझ ८ बजे पटाकासहित पक्राउ गरेको हो । उनीहरुको साथबाट किङ कोब्रा–११ बण्डल र इलेक्ट्रिक स्पार्कलर्स ५० प्याकेट बरामद भएको बारा प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार साँझ ८ बजेकै समयमा इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–७ स्थित टेढा रोडमा शंकास्पद अवस्थामा उभिरहेका मकवानपुरका तीनजना युवालाई लागूऔषध गाँजासहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । ४ पोकामा गरी १२ केजी अवैध लागूऔषध गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २३ बर्षीय सुमन रुम्बा, २० बर्षीय विजय थिङ र १९ बर्षीय अखिल मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।