हेटौंडाः हाँस्यव्यंग्य साहित्य विधाको प्रवद्र्धनमा क्रियाशील सिस्नुपानी मकवानपुरले यस बर्षको तिहारको अवसरमा देउसी–भैलो व्यंग्य तयार पारेको छ । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै समाजका विकृति, विसंगतिलाई उजागर गर्ने उद्देश्यले पहिलो पटक सिस्नुपानी मकवानपुरले देउसी–भैलो कार्यक्रम तयार पारेको सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनुभएको छ ।
सिस्नुपानी नेपालकै शैलीमा देउसी–भैलो कार्यक्रम तयार पारिएको अध्यक्ष लामिछानेले बताउनुभएको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको सिस्नुपानी मकवानपुरले मकवानपुरका साहित्यकारको सहयोगमा देउसी–भैलो कार्यक्रम तयार पारेको छ । लक्ष्मीपुजाको दिन बिहीबार राती साढे ८ बजे हेटौंडाबाट प्रसारण हुने टिम टिभिबाट देउसी–भैलो कार्यक्रम प्रसारण गरेपछि युट्युव राखिने बताइएको छ ।
सिस्नुपानी मकवानपुरको कार्यसमितिका पदाधिकारीले तयार पारेको सामग्रीलाई ७ वटा खण्डमा प्रस्तुत गरिएको छ । संगीत संयोजन ईश्वर खड्का र प्रलय चौलागाई गर्नुभएको छ भने छायाङ्कन तथा प्रसारणका लागि टिम टिभिले सहयोग गरेको छ । ३ दिनको अभ्यासपश्चात अन्तिम छायाङ्कन गरिएको देउसी–भैलो ४५ मिनेटको रहेको छ । यस बर्ष सिस्नुपानी नेपालले समेत देउसी–भैलोको कार्यक्रम तयार पार्न न सकेको बेला सिस्नुपानी मकवानपुरको गत भदौमा सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले रचनात्मक कार्य गर्न सफल भएको अध्यक्ष लामिछानेको दावी छ ।
सिस्नुपानी मकवानपुरले देउसी–भैलो कार्यक्रमलाई आगामी बर्षमा पनि नियमित गर्ने जनाउनुहुँदै सम्भव भयो भने प्रत्यक्ष प्रस्तुतीको कार्यक्रम पनि राखिने अध्यक्ष लामिछानेले बताउनुभएको छ । यस बर्ष देउसी–भैलो छायांकनका लागि हेटौंडा पार्टी प्यालेसले स्थान उपलब्ध गराएको हो । सिस्नुपानीले https://www.youtube.com/channel/UCVc8NqW6_KNu7P-Wf590HzA मा देउसी–भैलो कार्यक्रम हेर्न सकिने उल्लेख गरेको छ ।
