Home मुख्य समाचार बागमती प्रदेशको भाडा समायोजन छिट्टै हुन्छः मन्त्री पाण्डे

बागमती प्रदेशको भाडा समायोजन छिट्टै हुन्छः मन्त्री पाण्डे

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले प्रदेशभित्र सञ्चालन हुने स्थानीय र छोटो रुटको भाडादर छिट्टै समायोजन हुने बताउनुभएको छ । भाडादर समायोजन गर्न प्रदेशसँग आवश्यक नियमावली नहुँदा त्यो बनाएर राजपत्रमा प्रकाशित भइसकेको र भाडा समायोजन गर्न बनेको अध्ययन समितिले प्रतिवेदन तयार गरेको भन्दै भाडा समायोजन अन्तिम चरणमा पुगेको मन्त्री पाण्डेले बताउनुभयो । भाडा समायोजन गर्न अध्ययन समितिले तयार पारेको प्रतिवेदनको विश्लेषण गरेर निर्णयमात्र हुन बाँकी रहेका उहाँले बताउनुभयो ।

प्रतिवेदनको विश्लेषण गरेर भाडा समायोजन हुने अन्तिम चरणमा पुगिसकेको अवस्थामा केही यातायात व्यवसायीले एकतर्फी भाडा निर्धारण गर्ने, आन्दोलन गर्नेजस्ता कार्यहरु गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको मन्त्री पाण्डेको भनाई छ । सोमबार काठमाडौंका अधिकांश सार्वजनिक यातायातले सेवा बन्द गरेका थिए । यसअघि केन्द्र सरकारले राष्ट्रियस्तरमा अन्तर प्रदेशमा चल्ने सवारीको २८ प्रतिशतले भाडा वृद्धि गरेको थियो । स्थानीय तहको र छोटो रुटको भने प्रदेश सरकारले भाडा निर्धारण गर्ने कानुनी व्यवस्था रहेको छ ।

केन्द्र सरकारसँग ऐन, नियमावली भएका कारण छिट्टै भाडा समायोजन भएको तर बागमती प्रदेशसँग ऐन, नियमावली नहुँदा भाडा समायोजन हुन केही ढिलाई भएको हो । यातायात व्यवसायी, संघसंस्थाको सहकार्यमा छलफल भई समायोजनको प्रक्रिया अघि बढिसकेको भन्दै मन्त्री पाण्डेले केही दिनभित्रै यसको निर्णय हुने बताउनुभयो ।

यता बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले पनि सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै छोटो समयको अवधिमा प्रदेश भाडा निर्धारण-समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ बनाएर राजपत्रमा प्रकाशित भएको जनाएका छन् । भाडा निर्धिारण समायोजनसँगै ठूलो संख्यामा रहेका यात्रुलाई प्रत्यक्ष प्रभाव पर्ने भन्दै मन्त्रलायले गम्भीररुपमा यो विषयलाई लिएको र प्रक्रिया छिटो पूरा गरेर भाडादर समायोजन गर्ने प्रवक्ता सिंहले जानकारी दिनुभयो । उहाँले विभिन्न यातायात व्यवसायीहरुले भाडा समायोजन हुने प्रक्रियामा रहँदारहँदै आन्दोलन गर्ने, भाडा निर्धारण गरेको पाइएको भन्दै कानुनविपरित कार्य नगर्न÷नगराउन व्यवसायीलाई अनुरोधसमेत गर्नुभएको छ ।

Exit mobile version