Home मुख्य समाचार बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधि नेकपा समाजवादीमा

बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधि नेकपा समाजवादीमा

हेटौंडाः निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै नेकपा एमाले र जसपा विभाजन भएको थियो ।

बागमती प्रदेशमा नेकपा एमाले विभाजन हुँदा मंगलबार साँझ ५ बजेसम्म १३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एमालेबाट सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागार्इं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, मीना ज्ञवाली, कृष्ण खनाल, कुसुमकुमार कार्की, माधव पौडेल, रमा आले, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ र बसन्त मानन्धरलगायतले समाजवादी रोजेका हुन् ।

यस्तै मकवानपुरका दुई स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखले समाजवादी रोजेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलगायत ३९ जना स्थानीय तहका जनप्रतिनिधले समाजवादीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका सूचना अधिकारी सम्झना ढकालले बताउनुभयो ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएसँगै नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका थिए । नयाँ दल दर्ता गरेसँगै बागमती प्रदेशको राजनीतिमा उथलपुथल आएको थियो ।

Exit mobile version