Home मुख्य समाचार रौतहटको जनजागृति पुस्तकालय पुनः सञ्चालन, पुस्तकालय अभियानद्वारा ५० हजारको पुस्तक सहयोग

रौतहटको जनजागृति पुस्तकालय पुनः सञ्चालन, पुस्तकालय अभियानद्वारा ५० हजारको पुस्तक सहयोग

पुस्तकालयलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै पुस्तकालय अभियानका सदस्यद्वय सुदीप राज गिरी र आशिष सुवेदी ।

चन्द्रपुरः रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४, कप्तानटोलस्थित जनजागृति पुस्तकालय पुनः सञ्चालनमा आएको छ । करिब एक दशकदेखि बन्द अवस्थामा रहेको पुस्तकालय मोती जयन्तीको अवसर पारेर मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । चन्द्रपुर नगरपालिका र स्थानीयको सहयोगमा २ तल्ला पक्की भवन निर्माणपछि मंगलबार चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले पुस्तकालयको उद्घाटन गर्नुभएको हो ।

पुस्तकालय उद्घाटन गर्नुहुँदै मेयर चौधरीले पुस्तकालयका लागि पुस्तक खरिद गर्न पाँच लाख रुपैयाँ सहयोगको घोषणा समेत गर्नुभएको छ । नगरपालिकाले पुस्तकालय भवन बनाउन सहयोग गरेको बताउनुहुँदै मेयर चौधरीले पुस्तकालयमा सबैलाई उपयोगी पुस्तक हुनुपर्ने बताउनुभाये । पुस्तकालय स्थापना गर्न अग्रसर नागरिक समूहप्रति आभार व्यक्त गर्नुहुँदै मेयर चौधरीले पुस्तक खरिद गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

जनजागृति पुस्तकालयको उद्घाटन गर्नुहुँदै चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी ।

पुस्तकालय उद्घाटनकै अवसरमा जनजागृति पुस्तकालयलाई मंगलबार पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । पुस्तकालय अभियान समूहले एक सय ५० थान पुस्तक सहयोग गरेको हो । पुस्तकालय अभियानले सहयोग गरेर हालसम्म १३ वटा पुस्तकालय स्थापना भइसकेको छ । पुस्तकालय अभियान समूह मकवानपुरको प्रयासप्रति कार्यक्रमका वक्ता सबैले प्रशंसा गरेका थिए । पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य सुरेश श्रेष्ठले पुस्तकालय अभियानका बारेमा जानकारी गराउनुहुँदै रौतहट जिल्लामा जनजागृति पुस्तकालयले नै पुस्तकालय अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अमर आलेले पुस्तकालय स्थापना गर्न भन्दा नियमित सन्चालन गर्न गाह्रो हुने बताउनुभयो । पुस्तकालय नियमित सन्चालन गर्न आत्मैदेखि समर्पण चाहिने बताउनुहुँदै वडा अध्यक्ष आलेले किताबले मानिसलाई अनुशासित, संयमित र असल बनाउने बताउनुभयो । उहाँले पुस्तकालयलाई व्यवस्थित बनाउन वडा र नगरबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पुस्तकालय उद्घाटनपछि सामूहिक तस्वीर खिचाउँदै ।

पूर्व वडा अध्यक्ष कृष्ण तिमल्सिनाले बालबालिकालाई कथा सुनाउँदै जनजागृति पुस्तकालय स्थापना गरिएको स्मरण गर्नुहुँदै जनजागृति पुस्तकालयलाई चन्द्रपुरकै प्रमुख पुस्तकालयको रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाले पुस्तकालयको नियमित प्रयोग गर्नु पर्ने उल्लेख गर्नुहुँदै पुस्तकालय सञ्चालन र व्यवस्थापनमा जनप्रतिनिधि मात्रै नभएर नागरिक तहबाट सदैव सहयोग हुनुपर्ने बताउनुभयो । वडा सदस्य प्रेमकुमारी तिमल्सिनाले पुस्तकालय समाजको गहना भएको बताउनुभयो । पढ्न, बुझ्न पुरुषले जति अवसर पाएका छन् महिलाले पनि उत्तिकै अवसर पाउनुपर्ने वडा सदस्य तिमल्सिनाको धारणा थियो ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले मकवानपुरबाट पुस्तकको भण्डार प्राप्त भएको बताउनुहुँदै जीवनको ज्ञान पुस्तकबाट प्राप्त हुने धारणा राख्नुभयो । यादवले पुस्तकालयलाई ५ हजार रुपैयाँ सहयोग गर्ने पनि बताउनुभएको छ । नेपाली सेनाका प्रमुख सेनानी राजन दाहालले व्यक्तिगत तर्फबाट नेपाली सेना र युद्धका इतिहास विषयका २० हजार बराबरको सहयोग गर्ने बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष भूमिलाल न्यौपानेले घर–घरबाट पुस्तक संकलन गर्दै २०५१ सालमा स्थापना गरिएको पुस्तकालयले साहित्यिक गतिविधि गर्ने गरेको स्मरण गर्नुभयो । सदैव सल्लाह, सुझावको अपेक्षा गर्नुहुँदै न्यौपानेले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । पुस्तकालय उद्घाटनको अवसरमा जनजागृति पुस्तकालयले नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

Exit mobile version