Home मुख्य समाचार मकवानपुरमा कांग्रेसको वडा अधिवेशन अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

मकवानपुरमा कांग्रेसको वडा अधिवेशन अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

वडा अधिवेशनबाट निर्वाचित भएपछि प्राप्त प्रमाणपत्रसहित वडाका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु ।


हेटौंडाः नेपाली कांंग्रेस मकवानपुरले आइतबार वडा अधिवेशन गरेको छ । मकवानपुर जिल्लाका १०२ वडामध्ये अधिकांश वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । मकवानपुरको बकैया गाउँपालिकाका १२ वडा, बागमती गाउँपालिकाका ९ वडा, राक्सिराङ गाउँपालिकाका ९ वडा, कैलाश गाउँपालिकाका १० वडामा निर्वाचन सम्पन्न भइसकेको कांग्रेस मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । त्यहाँका केही वडामा नेतृत्वको घोषणामात्र हुन बाँकी रहेको उहाँको भनाइ छ ।

यता बकैया गाउँपालिकाको ७ नम्बर वडामा मात्र सभापतिको मात्र मतदान भएको थियो । गाउ“पालिकाको १२ वडामध्ये अन्य सबै वडामा सहमतिमा नेतृत्व चयन गरिएको छ । १०२ वडाबाट एक हजार ७ सय २ क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गरेको छ । समावेशी कोटामा लगभग सबै वडामा सहमतिमै नेतृत्व चयन भएको पार्टी प्रवक्ता कोइरालाले बताउनुभयो । मुख्य खुलातर्फको पद र सभापतिमा मात्रै मतदान भएका उहाँले बताउनुभयो । यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरको वडा नम्बर ४, ५, ६, ७, १०, १७, १८ लगायतका वडामा नेतृत्व सर्वसम्मत चयन भएका छन् । हेटौंडा–१, २, ५, ८ र ९ नम्बर वडामा मतदान भएको छ । आइतबार राति अबेरसम्म निर्वाचन सम्पन्न भई नतिजा घोषणा हुने उहाँले बताउनुभयो ।

हेटौंडा–४ को सभापतिमा पौडेल

आइतबार बिहानैदेखि सुरु भएको अधिवेशनबाट हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समिति सभापतिमा हरिप्रसाद पौडेलको नेतृत्वमा वडा समिति र २७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । वडा सभापति चयन हुनुभएका पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहनुभएको थियो । पार्टीमा गरेको मिहिनेतको मूल्यांकन गर्दै सर्वसम्मत वडामा पार्टीको नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गर्न क्रियाशील सदस्यहरुबाट साथ पाएको पौडेलको भनाई छ ।

हेटौंडा–४ स्थित क्वीक २० पार्टी प्यालेसमा भएको अधिवेशनबाट पौडेल नेतृत्वको वडा समितिको उपसभापतिमा अर्जुनप्रसाद देवकोटा र इन्दिरा कोइराला, सचिवमा विजय कार्की र रमेश मुडभरी, सहसचिवमा कृष्णप्रसाद प्रसाई र रामेश्वर पराजुली सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत प्रद्युम्न उपाध्यायले जानकारी दिनुभएको छ । यस्तै क्षेत्रीय प्रतिनिधि २७ जना पनि सर्वसम्मत चयन भएका छन् । ४ नम्बर वडामा नेपाली कांग्रेसको सक्रिय सदस्य दुई सय ८८ जना छन् ।

हेटौंडा–५ मा यमबहादुर

हेटौंडाः नेपाली कांग्रेसको जारी अधिवेशनबाट हेटौंडा–५ को वडा सभापतिमा दोस्रो कार्यकालका लागि यमबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । हेटौंडा–५ स्थित बालकुमारी पार्टी प्यालेसमा भएको वडा अधिवेशनबाट उपसभापतिमा विजय पुडासैनी र भवानी शंकर चौलागाई चयन हुनुभएको छ ।
अधिवेशनबाट सचिवमा सागर सापकोटा र कमल राई, सहसचिवमा राधिका भट्टराई र शिवराम निरौलासहित २१ सदस्यीय वडा समिति चयन भएको छ । यस्तै १६ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षणतर्फ सर्वसम्मत निर्वाचित भएका छन् भने खुलातर्फ ६ जना क्षेत्रीय प्रतिनिधि चयन गर्न निर्वाचन भएको थियो । ११ जना आकांक्षी भएपछि निर्वाचन गर्नुपरेको हो । हेटौंडा–५ मा कांग्रेसका दुई सय १५ जना क्रियाशील सदस्यले अधिवेशनमा भाग लिएका छन् ।

हेटौंडा–१० सभापतिमा लामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् वडा अधिवेशनबाट हेटौंडा–१० को सभापतिमा युवराज लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार बिहान हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा भएको वडा अधिवेशनबाट उपसभापतिमा बासु न्यौपाने र कमला दोङ, सचिवमा सुदेशकुमार श्रेष्ठ र कुसुम राई, सहसचिवमा रामबाबु साह र देवलाल श्रेष्ठसहित २५ सदस्यीय वडा समिति चयन गरिएको हो ।
यस्तै अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा १९ जना सर्वसम्मतरुपमै चयन भएका छन् । वडा अधिवेशनमा नेपाली कांग्रेसका एक सय ६४ जना क्रियाशील सदस्य सहभागी थिए ।

हेटौंडा–१२ मा गोले सर्वसम्मत

नेपाली कांग्रेसको जारी वडा अधिवेशनबाट हेटौंडा–१२ को वडा सभापतिमा सुदर्शन गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । गोलेको नेतृत्वमा उपसभापतिमा शम्भु तिवारी र बलबहादुर मिजार, सचिवमा दीपक सिंह घलान र राजेन्द्रप्रसाद पुडासैनी, सहसचिवमा बसन्त थोकर र केवल न्यौपानेसहितको वडा समिति चयन भएको छ । यस्तै १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि पनि चयन गरिएको छ ।

हेटौंडा–१६ मा दंगाल

नेपाली कांग्रेस हेटौंडा–१६ को सभापतिमा सोमनाथ दंगाल चयन हुनुभएको छ । १६ नम्बर वडाको उपसभापतिमा केदारनाथ आचार्य र कृष्णप्रसाद बस्ताकोटी, सचिवमा गुरुप्रसाद ढकाल, सहसचिवमा सन्तो धिमाल र पुस्कल पौडेललगायत २२ सदस्यीय वडा समिति चयन भएको छ ।

हेटौंडा–१८ मा बानियाँ

हेटौंडा–१८ मा सहमतिमा पदाधिकारी चयन भएको छ । नेपाली कांग्रेसको वडा अधिवेशनबाट राजेन्द्रराज बानियाँ सभापतिमा चयन हुनुभएको छ । यसैगरी उपसभापतिमा पुरुषोत्तमराज गुरागाईं र गोकर्ण सुवेदी, सचिवमा योगराज खतिवडा र बेञ्जन थापा, सहसचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै महिला सदस्य ५ जनासहित २५ जनाको वडा समिति सहमतिमा चयन गरिएको कांग्रेस निकट सुजन पण्डितले जानकारी दिनुभयो । हेटौंडा–१८ मा कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको पनि उपस्थिति रहेको थियो । उहाँले सर्वसम्मत नेतृत्व चयन भएकोमा सम्पूर्ण पदाधिकारीलाई बधाईसमेत दिनुभएको छ ।

बकैयाका २३ वर्षीय ब्राम्ह वडा सभापति
मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको सभापतिमा २३ वर्षीय बुद्ध ब्राम्ह सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपसभापतिमा कामी सिं मोक्तान, लेखतबहादुर मोक्तान, सचिवमा सोमबहादुर सिंजाली, सहसचिवमा लालबहादुर गोले र देउमान जिम्बा चयन हुनुभएको छ ।
यसैगरी महिला सदस्यमा लालीमाया स्याङ्तानसहित २२ जनाको वटा समिति सर्वसम्मत चयन भएका छन् । बकैया गाउँपालिका वडा नम्बर १ मा यो वर्ष ४६ जनाले क्रियाशीत सदस्यता पाएका थिए ।

बकैयाको ३ वडामा विवाद
मकवानपुरको बकैया गाउँपालिकाको १२ वडामध्ये ३ वडामा विवाद भएको कांग्रेस बकैया गाउ“पालिकाका सभापति भूमिनन्दन गौतमले बताउनुभयो । उहाँका अनुसार बकैया गाउँपालिकाको वडा नम्बर ६, ७ र १० मा कांग्रेस क्रियाशील सदस्यहरुको घम्साघम्सी परेको थियो । यस्तै वडा नम्बर १, २, ३, ४, ५, ८, ९, ११ र १२ मा भने सहमतिमा वडा समिति चयन भएका छन् ।

सबै वडामा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो । बकैया–१ मा बुद्ध ब्राम्ह सभापति बन्नभएको छ । वडा नम्बर २ को सभापतिमा चन्द्रबहादुर जिम्बा, बकैया–३ मा भक्तबहादुर भ्लोन सभापति बन्नुभएको छ । ४ नम्बर वडा सभापतिमा सुनिल भोम्जन, ५ नम्बर सभापतिमा अमृत थिङ, ८ नम्बर सभापतिमा ईन्द्रबहादुर दोङ, ९ नम्बर सभापतिमा तीर्थलाल रुम्बा, ११ नम्बर वडा सभापतिमा ईन्द्रबहादुर स्याङ्तान र १२ नम्बर वडा सभापतिमा थिङबहादुर रुम्बा चयन हुनुभएको छ ।

गढीको सबै वडामा अधिवेशन

मकवानपुरगढी गाउँपालिकाका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । आइतबार सबै वडामा नयाँ समिति गठन तथा क्षेत्रिय प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको छ ।
अधिवेशनबाट मकवानपुरगढी गाउँपालिकाको १ नम्बर वडा सभापतिमा सूर्य बहादुर स्याङ्तान, २ नम्बर वडा सभापतिमा राम प्रसाद पुडासैनी, ३ नम्बर वडा सभापतिमा बिजय लामा थोकर, ४ नम्बर वडा सभापतिमा सुवास सापकोटा, ५ नम्बर वडा सभापतिमा दीपेश दहाल, ६ नम्बर वडा सभापतिमा प्रल्हाद चौलागाईं, ७ नम्बर वडा सभापतिमा सुनराज स्याङ्तान र ८ नम्बर वडा सभापतिमा बेदनाथ न्यौपाने चयन हुनुभएको छ ।

Exit mobile version