हेटौंडाः दिगो विकासको लक्ष्यमा शिक्षा विषयक छलफल तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा बिहीबार सम्पन्न भएको छ । ‘गुणस्तरीय, निःशुल्क, सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने नाराका साथ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहश्राब्दी विकास लक्ष्य (२०००–२०१५)का एजेण्डा, प्राथमिक महत्वका क्षेत्रहरु तथा दिगो विकास लक्ष्य (२०१६–२०३०)का प्रकार, महत्व, परिमाणात्मक लक्ष्यहरू, नेपालमा कार्यान्वयन प्रक्रिया, संस्थागत संरचना, कार्यान्वयनका सवाल र चुनौतीहरुका बारेमा जानकारी दिइएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत् सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवद्र्धन गर्नेसम्बन्धमा जोड दिइएको अभिमुखीकरणमा नेपालको विशेष परिमाणात्मक लक्ष्यहरु, समय र जीवन व्यवस्थापन, कोभिड १९ ले पारेको प्रभाव, नागरिक संघसंस्थाको भूमिका, बाल विकास, अवसर, चुनौती र समाधानलगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडा र बाल अधिकारकर्मी कैलाश धितालले सहजीकरण गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियानमा आबद्ध शिक्षाको विकास र प्रबद्र्धनमा क्रियाशील गैरसरकारी संस्थाकर्मीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षाका लागि राष्ट्रिय अभियानका मकवानपुर संयोजक बुद्ध लामाले बताउनुभयो ।
दिगो विकास लक्ष्यका सवालमा सरकारले राम्रो योजना र समिति बनाए पनि कार्यान्वयनमा कमजोरी रहेको भन्दै कार्यक्रमका सहभागीहरुले गरिब, विपन्न र पछाडि पारिएका समुदायको उत्थानका लागि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । साथै, अझै पनि शहर र सुगम क्षेत्रमा समेत बालश्रम, बालबिबाह, हिंसा, मानव बेचबिखन रहेको भन्दै कार्यक्रममा सहभागीहरूले हिंसा, शोषण रोक्न ज्ञान, सीप, क्षमताको विकास गरी न्याय र सुरक्षा बालमैत्री र लैंगिक संवेदनशीलता सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।