Home मुख्य समाचार मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको शालिक निर्माण गरिने

मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको शालिक निर्माण गरिने

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने भएको छ । संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा पुर्‍याउनु भएको योगदानको सम्मान गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पमा परी संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको निधन भएको थियो । २०३७ सालमा क्याम्पस स्थापना भएदेखि क्याम्पस प्रमुख हुनुभएका श्रेष्ठले २०४५ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । शालिक निर्माण गरी २०७९ साल बैशाख १२ गते अनावरण गरिने बताइएको छ ।

शालिक बनाउन मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेललाई जिम्मेवारी दिइने जानकारी गराउनु हुँदै पूर्वविद्यार्थी संगठनका सचिव अर्जुनप्रसाद चौलागाईले लागतको विषयमा केही दिनमै जानकारी हुने बताउनुभयो । पूर्वविद्यार्थीबाटै आर्थिक सहयोग जुटाएर शालिक निर्माण गर्ने पनि चौलागाईले स्पष्ट पार्नुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संगठनका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय शालिक निर्माण समिति गठन गरिएको छ । सोमबार मकवानपुर क्याम्पसमै बसेको पूर्वविद्यार्थी संगठनको बैठकले शालिक निर्माण समिति र अनुगमन समिति निर्माण गरेको संगठनका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ ।

शालिक निर्माण समितिको सचिवमा अर्जुनप्रसाद चौलागाई, कोषाध्यक्षमा माया पौडेल, सदस्यमा प्रताप विष्ट, विनोद रिजाल, ईन्द्रप्रसाद नेपाल, र प्रभाकर पाण्डे रहनुभएको छ । यस्तै अनुगमन समितिको संयोजकमा यमबहादुर सिलवाल, सदस्यमा हरिबहादुर राउत, मोहनप्रसाद शर्मा र सत्यनारायण सिलवाल रहनुभएको छ ।

Exit mobile version