Home मुख्य समाचार एमालेलाई भएको चौतर्फी घेराबन्दी तोड्न सुरु भइसक्योः मकवानपुर इन्चार्ज राना

एमालेलाई भएको चौतर्फी घेराबन्दी तोड्न सुरु भइसक्योः मकवानपुर इन्चार्ज राना

पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदैँ नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा मकवानपुरका पार्टी इन्चार्ज रामेश्वर राना ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा मकवानपुरका पार्टी इन्चार्ज रामेश्वर रानाले एमालेलाई अहिले चौतर्फी घेराबन्दी भएको बताउनुभएको छ । उहाँले एमालेलाई भएको चौतर्फी घेराबन्दीलाई तोड्न काम सुरु भइसकेको पनि बताउनुभयो । आइतबार माओवादी केन्द्र र कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलार्ई रानाले स्वागत गर्दै गाउँ–गाउँमा पार्टी कमिटी गठन गर्ने अभियानमा एमाले अघि बढिसकेको बताउनुभयो ।

मकवानपुरको राक्सिराङ वडा नम्बर ६ र ८ का ७ जना युवाहरु कांग्रेस र माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । आइतबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश संगठन प्रमुख तथा संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

सविधानसभा सदस्य अनन्त पौडेलले नेपालको राजनीतिक अवस्था तरलतापूर्ण भएको बताउनुभयो । उहाँले जुन उद्देश्यले संविधान निर्माण भएको हो, त्यसो नभएर संविधानको दुरुपयोग भएको बताउनुभयो । अदालतबाट प्रधानमन्त्री छान्ने खेल सुरु भएको भन्दै अहिले केन्द्रमा बनेको बाम गठबन्धन धेरै नटिक्ने दाबी गर्नुभयो ।

नेकपा एमाले सरकारमा नभएपनि पार्टी प्रवेश गर्नेहरुको लर्का भएको बताउनुभयो । नेकपामा अहिले देखिएको जनविश्वासलाई जनतासम्म पनि कायम राख्नुपर्ने उहाँले बताउनुभयो । विगतदेखि नै आम जनता र कार्यकताबीच सम्बन्ध नङ र मासु, पानी र माछाजस्तै भएकाले जनतामा एमालेप्रति विश्वास भएको बताउनुभयो ।

स्थानीय तहको चुनावको तयारीमा एमाले लागिसकेकाले पूर्व–पश्चिम। उत्तर–दक्षिण सबैतिर पार्टी प्रवेश तथा कमिटी निर्माण भइसकेको बताउनुभयो । उहाँले अब नेकपामा प्रवेश गरेसँगै सबै एकै नदीमा मिसिएकाले कुनै विभेद नहुने भन्दै रुचि र योग्यताका आधारणमा पार्टीको जिम्मेवारी पनि दिइने बताउनुभयो । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले भने आफ्नो गाउँ आफै बनाउनुपर्ने बताउनुभयो । युवाहरुलाई निस्वार्थ पार्टीको काममा लाग्न उहाँले आग्रह गर्नुभयो ।

एमालेमा प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका सञ्चबहादुर प्रजाले राक्सिराङ–८ मा अब माओवादीले कब्जा गर्न नसक्ने बताउनुभयो । माओवादीमा लामो समय बिताएका प्रजाले दिगो राजनीति गर्नका लागि पार्टी प्रवेश गरेको बताउनुभयो । राक्सिराङ–८ का युवाहरु सबैलाई एमालेमा प्रवेश गराउने उहाँको भनाई छ । विगतमा माओवादीको धेरै पदमा रहेर काम गर्दा गाउँको विकासमा टेवा पुर्‍याउन नसकेको भन्दै अब नेकपाको बलियो पकडको क्षेत्र बनाउन आफू लागिपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version