Home मुख्य समाचार हरेक क्षेत्रको विकास क्रमिकरुपमा हुन्छः मुख्यमन्त्री पौडेल

हरेक क्षेत्रको विकास क्रमिकरुपमा हुन्छः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास क्रमिकरुपमा हुँदै जाने बताउनुभएको छ । शनिबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५ मा निर्माण भएको ज्यामिरे खोला पुल उद्घाटन गर्नुहुँदै उहाँले प्राथमिकताका आधारमा बजेट विनियोजन गरी काम भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले हालसम्म प्रदेश सरकारले ६२ वटा पुल निर्माणको काम गरिसकेको बताउनुभयो । विकास भनेको एकै रातमा नहुने बताउनुहुँदै उहाँले साढे तीन वर्षअगाडि स्थापना भएको प्रदेश सरकारले चारसय किलोमिटर पक्की सडक निर्माण गरिसकेको भन्नुभयो । विकासका काम कहिले पनि नटुङ्गिने कुरा राख्नुहुँदै उहाँले ठूला मुलुकमा पनि विकासको काम अझै पनि नसकिएको उदाहरण प्रस्तुत गर्नुभयो ।
अहिलेको अवस्थामा सबै क्षेत्रमा विकासले गति लिएको उहाँले बताउनुभयो । अझै आफूहरुले नेतृत्व लिएका स्थानमा विकासले धेरै गति लिएको उहाँले दावी गर्नुभयो । कृषि क्षेत्रमा प्रदेश सरकारले धेरै काम गरेको पनि उहाँले बताउनुभयो । यस क्षेत्रमा उत्पादन गरेका वस्तुलाई बजारसम्म लैजान सकिएन भने सडकको महत्व नहुने मुख्यमन्त्री पौडेलको भनाई रहेको छ । बिगतका सरकारले गर्न नसकेको काम पनि एमाले नेतृत्वको सरकारले गरेको उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले पुल निर्माण भएपछि यात्रा एवम् कृषि उपज निकासी गर्न यस क्षेत्रमा धेरै सहज भएको बताउनुभएको छ । पहिलेको तुलनामा यस क्षेत्रमा अहिले धेरै विकास भएको उहाँले बताउनुभयो ।

ज्यामिरे खोलाको पक्की पुल ३ करोड ११ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । संघीय सरकारबाट ८९ लाख ६४ हजार ३ सय १९ रुपैयाँ, बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ अनुदान र गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड १८ हजार १ सय ६९ रुपैयाँ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ लागतमा पुल निर्माण भएको हो । निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।

पुल निर्माणपछि गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दा लाभान्वित भएका छन् । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले ज्यामिरे खोलामा वारपार गर्नुपर्ने बाध्यता थियो ।

Exit mobile version