हेटौंडाः नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले जिल्लाको शैक्षिक अवस्थाको मूल्यांकन गरी प्रभावकारी पठनपाठनका लागि पालिकाहरुलाई जिम्मेवार बनाउन पहल गर्ने भएको छ । कोरोना कहरले लामो समयदेखि पठनपाठन अस्तव्यस्त भइरहेको र बार्षिक परीक्षा समेत भइसकेको अवस्थामा पालिकास्तरमा शैक्षिक अवस्थाबारे मूल्यांकन गरी नियमित पठनपाठनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, जिल्ला शिक्षा समिति र शिक्षा विकास तथा समन्वय इकाईलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ ।
शुक्रबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा संघका अध्यक्ष ध्रुबप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले विद्यालय तहको शिक्षामा पालिकाले जिम्मेवार हुन आग्रह गर्ने गरी ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको हो । संघका सचिव नरहरि महतका अनुसार पालिकाहरुलाई जिम्मेवार बनाएर विद्यालय तहको शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन अभिभावक संघले ध्यानाकर्षण गराउन लागेको हो ।
संघको नियमित बैठकअघि भुटनदेवी माविका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीसँग विद्यालयको अवस्थाका बारेमा जानकारी लिएको थियो । विद्यालयको अवस्थाका बारेमा समेत जानकारी लिने गरी अभिभावक संघले नियमित बैठक फरक फरक विद्यालयमा आयोजना गर्ने योजना बनाएको अध्यक्ष चौलागाईले बताउनुभएको छ ।
