Home मुख्य समाचार निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर बढ्यो, परीक्षण दर कम संक्रमण दर बढी

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर बढ्यो, परीक्षण दर कम संक्रमण दर बढी

हेटौंडाः मकवानपुरमा अहिले फेरि कोरोना संक्रमण दर बढ्दै गएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको पछिल्लो दैनिक विवरणअनुसार कोरोनाको संक्रमण दर फेरि बढ्न थालेको हो ।

जिल्लामा २०७८ वैशाख २० लागू गरिएको निषेधाज्ञा अहिलेसम्म जारी छ । जारी निषेधाज्ञाको अवधि यहि साउन १४ गते बिहीबार सकिँदैछ । निषेधाज्ञा जारी रहे पनि सबै प्रकारका सेवा निश्चित समयसम्म सञ्चालन भइरहको छ । सबै सरकारी कार्यलयबाट उपलब्ध हुने सेवाहरु, यातायात सेवाहरु, विभिन्न दैनिक उपभोग्य सामान बिक्री वितरणलगायतका सेवाहरु चलिरहेको छ । तर धेरैजसोले स्वास्थ्य मापदण्डको पालना गरेको अवस्था देखिँदैन । जिल्लाभित्रका क्याम्पसहले अहिले जारी निषेधाज्ञाको बिचमा पनि परीक्षाहरु सञ्चालन गरिरहेका छन् । तर स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन नसकेको पाइएको छ । जौखिमकै अवस्थामा पनि विद्यार्थीहरु बाहिर जिल्लाबाट परीक्षाका लागि दिनानुदिन हेटौंडा भित्रिएका छन् ।

जिल्लामा केहि समयदेखि कोरोना परीक्षण दरमा कमी आएको छ भने संक्रमण दर वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संक्रमण दर साउन महिनाको १ गतेदेखिकै उच्च हो । एक सय ७९ जनाको पीसीआर परीक्षण गर्दा ६९ जनामा र ५३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका मात्रै ६३ जना रहेका छन् । यस्तै थाहा नगरपालिकाका ७ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । बागमती गाउँपालिकाका २ जनामा, मनहरी गाउँपालिकाका ४ जनामा, भीमफेदी गाउँपालिकाका २ जनामा र बकैया गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या १२ हजार ६ सय ६३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ११ हजार ९ सय १७ जना पुगेको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । जिल्लामा हालसम्म १ सय ४० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
जिल्लामा अहिले ५ सय ६१ जना सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ५ सय १२ जना र ४९ जना संस्थागत आइसोलेसनमा रहका छन् ।

जिल्लामा अहिलेसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप ३२ हजार ३ सय ६८ जनाले लगाएका छन् भने दोस्रो मात्राको भेरोसेल खोप ६ हजार १ सय ५० जनाले मात्र लगाएका छन् । यस्तै कोभिड–१९ विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप २१ हजार ६ सय ६३ जनाले र दोस्रो मात्राको कोभिशिल्ड खोप ८ हजार ३ सय ७५ जनाले लगाएका स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा मंगलबारबाट जोन्सन एण्ड जोन्सन खोप पनि लगाउन सुरु गरिएको छ । जिल्लामा रहेका ५० देखि ५४ वर्षका नागरिकहरुलाई तथा वैदेशिक यात्रा गर्ने नागरिकहरुलाई प्राथमिकतामा राखेर यो खोप लगाउन सुरु गरिएको हो । यो खोप आज बुधबारसम्म मात्र लगाइनेछ ।

Exit mobile version