Home विचार कोभिड–१९ ले विद्यालय शिक्षामा पारेको असर

कोभिड–१९ ले विद्यालय शिक्षामा पारेको असर

आकृति भण्डारी, कक्षा—१०, चन्द्रोदय मावि हेटौाडा—८, बहादुरगन्ज, मकवानपुर

२०१९ इ.स.बाट विश्वभरि फैलिएको नयाँ कोरोना भाइरस संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नाम दिएको छ । कोभिड–१९ सर्वप्रथम चीनको वुहानमा देखा परेको थियो । त्यसपश्चात् त्यहाँबाट विश्वभर फैलिन थालेको हो । यो रोगका भाइरस कोरोना एक परिवर्तित स्वरूपको भाइरस हो, जुन सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रुघाखोकी सँग पनि सम्बन्धित रहेको छ । यो एक प्राणघातक भाइरस हो ।

कोभिड–१९ श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा हामीले बाहिर निस्कँदा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

कोभिड–१९ नेपालमा मात्र नभएर विश्वभर रहेको छ । यसले नेपालका विभिन्न क्षेत्रमा असर पुर्‍याएको छ, जसमध्ये शिक्षा क्षेत्र पनि एक हो । कोभिड–१९ ले गर्दा देशका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरु बन्द गर्नु पर्ने समस्या आइपर्‍यो । यसो हुँदा विद्यालय शिक्षामा कोभिड–१९ ले निकै नै असर पारेको छ ।

कोभिडले गर्दा विद्यार्थीहरूले उचित शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । सहरका विद्यार्थीहरूले जसोतसो भौतिक उपस्थितिबिना हुने अध्ययन गर्न पाइरहेका छन् तर गाउँका विद्याथीहरूले भने त्यही शिक्षा पनि हासिल गर्न पाइरहेका छैनन् । त्यतिमात्र नभएर भौतिक उपस्थितिबिना नै हुने पढाइ भौतिक उपस्थितिमा हुने पढाइजस्तो प्रभावकारी भने भइरहेको छैन ।

भौतिक उपस्थितिमा हुने पढाइमा र भौतिक उपस्थितिविना नै हुने पढाइमा पनि निकै फरक रहेको छ । जस्तैः भौतिक उपस्थितिमा हुने पढाइमा दिनमा सबै विषय अध्ययन गर्न पाइन्थ्यो भने भौतिक उपस्थितिविना नै हुने पढाइमा कतिपय दिनमा केही विषय मात्र अध्ययन गर्न पाइन्छ । कोभिड–१९ ले गर्दा विद्याथीहरू विद्यालय जान पाइरहेका छैनन् । विद्यालयमा प्रदान गरिने शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । विद्याथीहरूले परीक्षा दिन पाएनन् । त्यसो हुँदा उनीहरूको परीक्षाबिना नै नतिजा प्रकाशन गर्नुपर्ने भयो । विद्याथीहरूलाई घरमै बसेर मोबाइल, टिभी, ल्यापटप चलाउने बानी पर्न थालिसक्यो । विद्याथीहरूले पढाएका जति सबै बिर्सिने स्थिति पनि पैदा भइसकेको छ ।

यदि कोभिड–१९ को अन्त्य हुनासाथ विद्यालय खुल्ने सम्भावना धेरै नै रहेको छ र हामीले भौतिक उपस्थितिमा हुने पढाइ पनि प्राप्त गर्न सक्ने छौँ । त्यसका लागि हामी सम्पूर्ण नेपालीहरूले मास्क र सेनिटाइजरको पयोग गर्नुका साथै सरकारले लागु गरेको सम्पूर्ण स्वास्थ्य नियमको पालना गर्ने गर्नुपर्दछ ।

Exit mobile version