Home मुख्य समाचार प्रदेश मातहत प्रहरी संगठन नआएको महशुस भएनः मन्त्री केशव पाण्डे

प्रदेश मातहत प्रहरी संगठन नआएको महशुस भएनः मन्त्री केशव पाण्डे

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्ती केशवराज पाण्डे बोल्नुहुँदै

हेटौंडाः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले प्रदेश सरकारको मातहतमा प्रहरी संगठन नआएको महशुस नै नभएको बताउनुभएको छ । प्रदेश प्रहरीसँग समन्वय गरेर काम गर्दा यस्तो महुशस नभएको उहाँले बताउनुभएको हो । बागमती प्रदेशले प्रदेश प्रहरीलाई १ अर्बभन्दा बढी लगानी गरिसकेको छ ।

प्रदेशको खर्चमा ४६ वटा प्रहरी चौकिको आधुनिक भवन निर्माण सम्पन्न भएको छ भने थप २१ वटा प्रहरी चौकि भवन निर्माण हुँदैछ । यस्तै प्रहरीलाई सवारी तथा प्रविधिको लागि बागमती प्रदेश सरकारले रकम खर्चर्दै आएको छ । तर प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी आएको छैन ।

शुक्रबार मन्त्री पाण्डेले बागमती प्रदेशको प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामालाई झण्डै ४ करोडको सवारी हस्तान्तरण गर्नुभयो । प्रदेश प्रहरी कार्यालय मातहतको १० जिल्लाका प्रहरी कार्यालयलाई १२ थान ४ पाङ्ग्रे पिक अप भ्यान र १६ थान मोटरसाइकल हस्तान्तरण भएको हो । बागमती प्रदेश मातहतका दुर्गम स्थानका प्रहरी कार्यालयहरुमा पुरानो गाडिहरु भएको हुँदा नयाँ खरिद गरेर हस्तान्तरण गरेको मन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले अझै नयाँ सवारीहरु खरिद गरेर प्रदेशका प्रहरीलाई दिने बताउनुभयो । यसले निर्वाचनमा समेत प्रहरीलाई सहयोग पुग्ने मन्त्री पाण्डेले दाबी गर्नुभएको छ । प्रहरीलाई प्रविधि र यातायात दुवै क्षेत्रमा बलियो बनाउनुपर्ने मन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले चालू वर्षदेखि नै प्रदेश छिर्ने नाकाहरुमा डिजिटल चेकप्वान्ट निर्माण गर्ने, ड्रोन खरिद गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।

मन्त्रालयले शुक्रबार प्रहरीलाई २८ थान नयाँ सवारी दिएको हो । मन्त्रालयले ३ करोड ५३ लाख २७ हजार ९ सय ८८ रुपैयाँमा १२ थान पिक अप भ्यान र १ सय ५० सिसिको १६ थान पल्सर मोटरसाइकल ३७ लाख ३६ हजारमा खरिद गरेर बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुखलाई प्रदान गरेको हो । यसैबिच आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालै सरुवा भएका बागमती प्रदेशको डिआइजी बसन्त कुमार लामा, प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिदाई समेत गरेको छ ।

Exit mobile version