Home मुख्य समाचार थाहा नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा

थाहा नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा

हेटौंडाः मकवानपुर जिल्लाको एकमात्र नगरपालिकाको रुपमा रहेको थाहा नगरपालिकाले नवौं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको खर्च अनुमानसहित बिहीबार थाहानगरपालिकाका उपमेयर खड्गबहादुर गोपालीले बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम तथा विषयलाई समेटिएको भए पनि शिक्षा क्षेत्रका लागि विनियोजन गरिएको बजेटबारे स्पष्ट उल्लेख गरिएको छैन । संक्रामक रोगका कारण भौतिक दुरी कायम गर्नुपर्ने बाध्यात्मक स्थिति भई लकडाउन गर्नुपरेका कारण विद्यार्थीको सिकाइमा गम्भीर असर पुगेको र भविष्यमा पनि यस्ता सरुवा रागेहरु आउने सम्भावनालाई मध्येनजर गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको उल्लेख छ । नगरपालिकाभित्रका संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुलाई भर्चुअल माध्यमबाट तालिम प्रदान गर्ने र पठनपाठन गर्न इन्टरनेटको पहुँच पुर्‍याउन प्राविधिक अध्ययन गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

प्रधानाध्यापक र लेखापाललाई तालिम
थाहा नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई तालिम दिने नीति अवलम्बन गरेको छ । विद्यालयको लेखा व्यवस्थापनका लागि लेखापाललाई तालिम प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई निरन्तरता दिइने र विद्यालयहरुमा क्रमशः ल्याब व्यवस्थापन तथा कम्प्युटर व्यवस्थापन गर्दै प्रविधिमैत्री विद्यालय सञ्चालन गर्ने बताइएको छ ।

थाहानगरभित्रका विद्यालयहरुमा स्थानीय पहिचानसहितको (थाहा तथा रुदानेसँग सम्बन्धित) स्थानीय पाठ्यक्रम तयार भई कक्षा ५ सम्म अध्ययन सुरु भइसकेको हुँदा आगामी आर्थिक वर्षमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । नगरमा विद्यालयहरु नजिकको सडकहरुको यसवर्ष अवस्था पहिचान तथा मूल्याङ्कन गरी आगामी वर्षदेखि स्तरीकरण गरिने र पायक पर्ने विद्यालयहरुलाई केन्द्र विद्यालय तोकी विद्यालयलाई बस वा यातायातको साधन व्यवस्था गरी थोरै विद्यार्थी भएका स्कूललाई मर्ज गर्ने नीति लिइने भएको छ ।

यसवर्ष एउटा विद्यालयलाई विद्यार्थीलाई यातायातको सुविधाका लागि बस सञ्चालनका लागि सहयोग गरिएकोमा अन्य विद्यालयमा समेत बस सञ्चालनका लागि प्रोत्साहन गरिने भएको छ । थाहानगरका केही विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालनमा ल्याउन सकेमात्र गाउँपालिकाले खोजेको शैक्षिक परिणाम प्राप्त हुने हुँदा आवासीय विद्यालय सञ्चालनका लागि गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी सञ्चालनको प्रयास गरिने भएको हो ।

यस्तै, दरबन्दी कम भएका विद्यालयलाइ दरबन्दी थप गरिदिनका लागि संघीय सरकारसँग पहल गरिने बताइएको छ । नगरभित्रका १२ वटा माध्यमिक विद्यालयमा एउटा विज्ञान प्रविधिमैत्री कोठा निर्माण गरिने भएको छन् । यस कार्यका लागि ‘माई सकेण्ड टिचर’ संस्थासँग सहकार्य गरिने नवौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ ।

Exit mobile version