Home मुख्य समाचार बागमती प्रदेश प्रहरी प्रमुख लामाको सरुवा, कार्की आउने

बागमती प्रदेश प्रहरी प्रमुख लामाको सरुवा, कार्की आउने

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा

हेटौंडाः मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरुको सरुवा भएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले १६ जना डिआईजीहरुको सरुवा गर्ने निर्णय गर्नुभएको प्रहरी प्रधान कार्यालयको मानव श्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

डिआईजीहरुको सरुवाको निर्णयअनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी बसन्त कुमार लामाको पनि सरुवा भएको छ । डिआईजी लामाको प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ । डिआईजी लामा २०७७ साल बैशाख ११ गते बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

१३ महिना प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा डिआईजी लामाले प्रहरी सेवा सुदृढीकरणको प्रयास गर्नुभएको थियो । प्रदेश प्रहरी कार्यालयको भौतिक संरचनाको विकास, प्रहरी कर्मचारीको आचरण सुधारमा पनि महत्वपूर्ण कार्य गर्नुभएको थियो । बागमती प्रदेश प्रहरी प्रमुखमा डिआईजी प्रकाश जंग कार्की आउनुहुने भएको छ ।

यस्तै मन्त्रीस्तरीय निर्णयबाटै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामै कार्यरत एसएसपी मीरा चौधरीको पनि सरुवा भएको छ । एसएसपी चौधरीको १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा भएको छ । एसएसपी चौधरी २०७७ मंसिरमा बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी चौधरीको सरुवा भए पनि नयाँ एसएसपी को आउने भन्ने निश्चित नभएकोले एसएसपीको दरबन्दी खाली रहने भएको छ ।

Exit mobile version