Home मुख्य समाचार बालश्रम अन्त्यका लागि सबैको सहकार्य आवश्यक

बालश्रम अन्त्यका लागि सबैको सहकार्य आवश्यक

बालश्रमसम्बन्धी सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः बालश्रम निवारणका लागि बागमती प्रदेशस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ऋतु भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको प्रमुख आतिथ्यता थियो । कार्यक्रमा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठको बिशेष आतिथ्यता थियो ।

बालश्रम उन्मुलनका लागि अन्तर्राष्ट्रिय वर्ष २०२१ तथा बालश्रमबिरुद्धको विश्व दिवस जुन १२ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री बस्नेतले सरकार बालश्रम अन्त्य गर्न कटिबद्ध भएकै कारण बालअधिकार महासन्धिले निर्दिष्ट गरेको आधारमा नेपालमा बालबालिकाका अधिकारसम्बन्धी ऐन कानुनहरु तर्जुमा गरिएको जानकारी दिनुभयो । उहाँले सरकार र नागरिक समाजको सहकार्यबाट बालश्रमजस्तो सामाजिक र कानुनी अपराध समाजबाट अन्त्य गर्न सकिने बताउनुभयो । कोभिडका कारण आमाबाबु गुमाएका बालबालिकाहरुका लागि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षाबापत प्रतिमहिना तीन हजार रुपैयाँ प्रदान गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । अब प्रदेश सरकारले बालश्रम अन्त्यका लागि सामाजिक संस्थाहरुसँग सहकार्य गरी कार्ययोजना बनाएरै काम गर्ने बताउँदै मन्त्री बस्नेतले सामाजिक संस्थालाई सहकार्य गर्न अनुरोध गर्नुभयो ।

विशेष अतिथि जुनेली श्रेष्ठले बालबालिकाको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउँदै स्थानीय सरकारले नीति बनाएरै बालश्रमको अन्त्य गर्न आग्रह गर्नुभयो । बालबालकालक्षित बजेट जहाँ जानुपर्ने हो त्यहाँ पुग्न नसकेको भन्दै श्रेष्ठले पहुँचको आधारमा बजेट खर्च हुने भएकाले अब बिपन्न, बालश्रमिक, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भित्र्याउन बजेट उपयोगी हुनुपर्ने बताउनुभयाो । प्रदेश सरकारले बालश्रम अन्त्य गर्दै बालमैत्री अवधारणमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाल अधिकार अभियन्ता उद्धब पौडेलले बागमती प्रदेशमा बालश्रम गर्ने बालबालिकाको अवस्था, नेपालको बालश्रम अन्त्य गर्ने नीतिगत व्यवस्था, सरकारका योजनाहरु र बालश्रम अन्त्य गर्न चुनौतीका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । हेटौंडामा बालश्रम निवारणको क्षेत्रमा बालकल्याण समाज मकवानपुरले गरेका क्रियाकलापको बारेमा बाल संरक्षण सञ्जालका सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा सञ्जालका महासचिव अनिता पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संवाद कार्यक्रममा बाल कल्याण समाज मकबानपुर, एफएचआरडी, सिविस, फोएभ काभ्रे, युमेस, युथ क्लब नारायणगढ, विश्वास नेपाल, चेन्ज नेपाल, सीडीएस, चाइल्ड नेपाल, कन्सर्न नेपाल, ग्लोबल एक्सन नेपाल, हुरेक, ल्याक, लुनिभा ललितपुर, मान्क, नेपाल गुडवेभ फाउन्डेसन, साथसाथ, सिर्जनशील युवा क्लब, सिन्धु उत्थान केन्द्र, भ्वाइस अफ चिल्ड्रेन, कन्सर्न सोसाइटी, वाइएभी, सीएभीलगायत संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Exit mobile version