Home खेलकुद विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित

पहिलो हाफको अन्तिम समयमा रोहित चन्दलाई रातो कार्ड देखाउँदै रेफ्रि ।

हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । पहिलो हाफको अन्तिम समयमा १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३–० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप १ गोल खायोे । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो । यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट हुँदा नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ ।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा अष्ट्रेलिया अग्रता बढाउन सफल भयो । ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले सहजै गोल गरिदिए । अर्भाइनले पेनाल्टी क्षेत्र बाहिरबाट नेपालको डिफेन्स लाइनलाई चिर्दै निकालेको पासलाई फार पोस्टमा बोएलले सहजै गोल गरे ।

इन्ज्युरी समयमा नेपालका लागि तीन खेलाडीले डेब्यु गरेका थिए । सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले मैदान प्रवेश गर्दै राष्ट्रिय सिनियर टोलीबाट पहिलो खेल खेले । यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।

Exit mobile version