Home मुख्य समाचार बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

हेटौंडाः बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बिहीबार सार्वजनिक गरिदै छ । सत्तारुढ दल नेकपा एमाले बाहेकका अन्य दलहरु माओवादी, कांग्रेस, विवेकशील, जसपा, नेमकिपाले मोर्चाबन्दी गरेका छन् । विपक्षी सांसदहरुले आगामी वर्षको नीति तथा कार्यक्रम जनमुखी, कोभिड–१९ केन्द्रित व्यवस्थित र सन्तुलन हुनुपर्नेमा जोड दिएका छन् । तर विपक्षी दलहरुको सुझाव सरकारले आगामी नीति तथा कार्यक्रममा समावेश गरेको छ कि छैन आजै थाहा हुनेछ ।

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले ९ पन्ने सुझाव आगामी नीति तथा कार्यक्रममा समावेश गर्न मुख्यमन्त्री डोरमणि पौडेललाई पेश गर्नुभएको थियो । उहाँले प्रदेशको गौरवको आयोजना काठमाडौं–हेटौंडा सुरुङमार्ग र विद्युतीय बस खरिदलाई नीति तथा योजनामा समावेश नगर्न सुझाव दिनुभएको थियो । तर प्रदेश सरकारले यी सुझावहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्ने संकेत देखिएको छैन ।

सुरुङमार्ग निर्माणको कुनै औचित्य नभएको भन्दै सुझाव पेश गरेसँगै नेकपा माओवादी केन्द्रको हेटौंडामा चौतर्फी आलोचना सुरु भएको छ । हेटौंडाका रमेश देवकोटाले विकासको गतिलाई रोक्न नहुने बताएका छन् । सुरुङमार्ग आजको आवश्यकता हो’, देवकोटाले भने । सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैया“ खर्च लाग्ने अनुमान गरिएको छ । यो वर्षको अन्त्यसम्ममा परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिनुभयो । असार १५ गतेसम्म छनौट भएको ६ वटा परामर्शदतामध्ये एक छनौट हुने उहाँले बताउनुभयो ।

सुरुङमार्गको सम्पूर्ण तयारी अन्तिममा पुगेको भन्दै बजेट सार्वजनिक भएपछि टेन्डर आव्हान हुने उहाँको भनाई छ । भीमफेदी गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने ३.२ किलोमिटर लम्बाईको दुई लेनको सुरुङमार्ग निर्माण हुनेछ । सुरुङमार्ग निर्माणका लागि टेण्डर हुने अन्तिम तयारीमा पुगेकोले सरकार यसबाट ब्याक नहुने देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सुरुङमार्गलाई नीति तथा कार्यक्रममा समावेश नगर्न सुझाव दिएको बारे जानकारी नै नभएको प्रतिक्रिया दिनुभएको छ । प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पनि नरोक्ने देखिएको छ । अन्य सुझावहरु भने विपक्षी दलको समावेश भएर नीति तथा कार्यक्रम सार्वजनिक हुने सम्भावना छ ।

यता प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले बजेटबारे पूर्ण छलफल नभई पास गर्न नदिने बताउनुभएको छ । उहाँले सुरुङमार्ग निर्माण गर्न बजेट विनियोजन गर्न नहुने तर्क गर्नुभयो । उहाँले आफ्नो दलले दिएको सुझाव नीति कार्यक्रम र बजेटमा समावेश भएर नआएमा आगामी बजेट पास नगर्ने चेतावनी दिनुभएको छ ।

Exit mobile version