Home मुख्य समाचार मनहरीमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाउन प्रदेश सांसद चेपाङको माग

मनहरीमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाउन प्रदेश सांसद चेपाङको माग

हेटौंडाः बागमती प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले मकवानपुरको मनहरीमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाइदिन प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेसँग माग गर्नुभएको छ । आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरी मनहरीको अस्पतालमा पोष्टमार्टम गर्ने ल्याब र जनशक्ति व्यवस्थापन गर्न उहाँले माग गर्नुभएको हो ।

मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका र कैलाश गाउँपालिका तीनै स्थानीय तहलाई पायक हुनेगरी मनहरीमा पोष्टमार्टम गर्ने ल्याब स्थापना र जनशक्ति व्यस्थापन गर्न सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

मकवानपुरमा शव पोष्टमार्टम गर्न दुर्गमका नागरिकहरु पनि हेटौंडा अस्पतालमा आउनुपर्ने बाध्यता छ । जिल्लाभर अन्य स्थानमा पोष्टमार्ट हुने व्यवस्था नभएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रामचन्द्र सापकोटाले बताउनुभयो । वार्षीक रुपमा मकवानपुरकोे राक्सिराङमा दुर्घटना, विषादी च्याउ खाएर, पहिरो लगायतमा परेर सरदर १५ जनाको मृत्यु हुँदै आएको छ । उनीहरुको अकालमा मृत्यु हुँदा पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याउनुपर्ने बाध्यता छ । यो बाध्यता मनहरीको मात्र भने होइन । मकवानपुरका पूर्वमा रहेको बागमती गाउँपालिकाको पनि समस्या उस्तै छ ।

हेटौंडाबाट राक्सिराङ पुग्न ६ देखि ७ घण्टा लाग्छ । अझ वर्खाको समयमा कुनै भवितब्य भइहालेमा बाटो बन्द हुन्छ । प्रहरी घटनास्थलमा पुग्न दिनभर लाग्ने गरेको प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रदेश सांसद सन्त चेपाङ मकवानपुरको राक्सिराङबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उहाँले आगामी वर्षमा बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङ जिल्लामा चेपाङ उत्थान स्वास्थ्य शिक्षा कार्यक्रम ल्याउन सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसँग माग गर्नुभएको छ ।

Exit mobile version