Home मुख्य समाचार सुरुङमार्गको योजना छोड्न बागमती सरकारलाई माओवादी संसदीय दलको सुझाव

सुरुङमार्गको योजना छोड्न बागमती सरकारलाई माओवादी संसदीय दलको सुझाव

हेटौंडाः माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशको गौरवको आयोजनालाई समावेश नगर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले भीमफेदी–कुलेखानी पोष्टबहादुर सुरुङमार्गलाई समावेश नर्गन सुझाव दिनुभएको हो । कानुनी हिसाबले सुरुङमार्ग निजी क्षेत्रले लिएको र उपयोगको हिसाबले निजगढ काठमाडौं फास्ट ट्रयाक नजिक पर्ने हुँदा सुरुङमार्गको औचित्य नभएको भन्दै योजनालाई छोड्न सरकारलाई सुझाव पेश गर्नुभएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख प्रतिपक्ष दल माओवादीले आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्न नौ पन्ने सुझाव मंगलबार पेश गरेको हो ।

अहिलेको अवस्थमा स्वास्थ्य र शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने नेता जम्कट्टेलले प्रदेशका मुख्यमन्त्रीलाई सुझाव दिनुभएको छ । उहाँले बिना पूर्वाधार विद्युतीय बस किनेर पार्किङ गरी राख्नुपर्ने् भएकोले हाललाई बस खरिद प्रक्रिया रोक्न पनि सुझावमा भन्नुभएको छ । आगामी वर्षको नीति कार्यक्रम र बजेटले प्रदेशको सबै मन्त्रालयको सेवा १३ जिल्लामा एकिकृत रुपमा दिने कार्यालयहरु स्थापना गर्न केन्द्रित हुनुपर्ने, प्रदेश सरकारको आयको दायरालाई फराकिलो बनाउँदै प्रदेश सरकारको थैलिलाई बलियो, भरपर्दो र दिगो बनाउनुपर्नेमा दलले सुझाव दिएको हो ।

आगामी वर्षमा धादिङको रुबी भ्याली एकीकृत विकासको लागि २ अर्ब विनियोजन गर्नुपर्ने, रामेछाप, उमाकुण्ड, सिन्धुपाल्चोक, पाँचपोखरी, थांगपाल र जुगल, दोलखाको गौरिशंकर, सिन्धुलीको घंयाङलेख, मकवानपुरको राक्सिराङ र कैलाश, चितवनको इच्छाकामना, नुवाकोटको दुप्चेश्वर, काभ्रेको महाभारत र खानीखोलालाई विशेष आर्थिक अनुदान कार्यक्रम राखिनुपर्नेमा प्रदेश सरकारलाई सुझाव दिएको छ ।
अहिलेको अवस्थामा खोपको सुनिश्चत गरेर मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउन प्रतिपक्ष दलले भनेको छ ।

माओवादी संसदीय दलले स्वास्थ्य, शिक्षा, युवा, खेलकुद, सामाजिक, कृषि, उद्योग, संस्कृती तथा पर्यटन, वन तथा वातावरण, खानेपानी सिचाई, कानुन, कर्मचारी तथा शिक्षक र प्रदेश सभा छुट्टाछुट्टै शिर्षकमा सुझावहरु दिएको छ ।

दलको सुझावहरु आगामी वर्षकोे नीति, कार्यक्रम र बजेटमा समावेश भएर आउने आशा गरेको दलका नेता जम्कट्टेलले बताउनुभयो । प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले राम्रो सुझावहरु ग्रहण गर्ने बताउनुभएको छ । सोमबार मात्रै बागमती प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्तर र प्राथमिकता प्रदेश सभामा पेश गरेर छलफल गरेको थियो । बजेटको सिद्धान्त र प्राथमिकता नमिल्दो आएको भन्दै विपक्षी दलका सांसदहरुले त्यसको आलोचना समेत गरेका थिए ।

Exit mobile version