Home खेलकुद एनएसएलको फाइनलमा काठमाडौं र धनगढी भिड्ने

एनएसएलको फाइनलमा काठमाडौं र धनगढी भिड्ने

फाइल तस्बिर

हेटौंडाः मकवानपुरे फुटबल खेलाडी अञ्जन विष्टको कप्तानीमा रहेको ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौंले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो ।

लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको छ । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले ललितपुरमाथि १–० को जित दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।

पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । खेलको १५ औं मिनेटमा ओलुमोउले पेनाल्टीमार्फत् गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । २२ औं मिनेटमा ओलुमोउले नै व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए ।

५९ औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले अफसाइड बिट ट्याप गर्दै गरेको प्रहार गोलमा परिणत हुँदा काठमाडौंले खेलमा ३–० को अग्रता लिएको थियो । काठमाडौंका आशीष गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै ओलुमोउ खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे ।

धनगढीले काठमाडौंलाई प्लेअफको पहिलो खेलमा २–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल खेल जेठ १ गते हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

Exit mobile version