Home अन्तरवार्ता ‘घरेलु उद्योगलाई करमा सहुलियत दिनुपर्छ’

‘घरेलु उद्योगलाई करमा सहुलियत दिनुपर्छ’

गणेशहरि उप्रेती, अध्यक्ष घरेलु तथा साना उद्योग संघ मकवानपुर

घरेलु तथा साना उद्योग संघ मकवानपुरको गत चैत ३० गते सम्पन्न आठौं अधिवेशनले गणेशहरि उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । संघको नेतृत्व हासिल गरेपछि उप्रेतीले संघको गतिविधि कसरी अघि बढाइरहनु भएको छ ? संघको वर्तमान अवस्था तथा उहाँको भावी योजनालगायत विषयमा केन्द्रित रहेर अध्यक्ष गणेशहरि उप्रेतीसँग समाज संवाददाता संगी लामाले गर्नु भएको कुराकानीको सम्पादित अंश ः

समाजः घरेलु तथा साना उद्योग संघको नेतृत्व गर्ने अवसर पाउनुभएको छ, के–के आधारमा सर्वसम्मत नेतृत्वको अवसर पाउनुभयो तपाईंले ?
उप्रेतीः
घरेलु तथा साना उद्योग संघमा ३ सयजना लघु तथा घरेलु उद्यमीहरु सदस्य छन् । त्यसमा महिला उद्यमीहरु पनि रहेका छन् । हामी सबै साना उद्यमी भएकाले एकआपसमा विरोधको भावना एकदम कम भएकाले सबैको चाहनाअनुसार सर्वसम्मत मैले नेतृत्वको अवसर पाएको हुँ ।

समाजः मकवानपुर जिल्लामा घरेलु तथा साना उद्योगमा के–कस्ता समस्याहरु छन् ?
उप्रेतीः
मकवानपुर जिल्लामा घरेलु तथा साना उद्योगको मुख्य समस्या भनेको बजारीकरणकै हो । मकवानपुरमा कस्ता किसिमका सम्भावनाहरु छन्, कुन ठाउँमा के उत्पादन हुन्छ, कुन उत्पादन गरेर त्यसलाई सहजै बजारीकरण गर्न सकिन्छ भन्ने विषयमा खासै अध्ययन भएका छैनन् । हामीले पनि त्यसलाई कसरी लाने र कसो गर्ने भन्ने किसिमको ठोस योजना बनाउन सकेका छैनौं । सरकारी निकाय तथा राजनीतिक तहमा बस्नेहरुले पनि यस्ता कुराहरुको खासै मूल्याङ्कन गरेनन् ।

उद्योगी व्यवसायीमा पनि उद्योग वाणिज्य संघजस्ता ठूला व्यावसायिक संस्थाप्रति चासो बढि भएको देखिन्छ । कसरी उद्योग वाणिज्य संघको नेतृत्व हातपार्ने, के भनेर चुनावमा जाने अनि चुनाव कसरी जित्नेमात्रै कुरामा बढी ध्यान गइरहेको छ । मकवानपुरलाई औद्योगिक जिल्ला बनाउने, हेटौंडालाई आर्थिक समृद्धिको शहर बनाउने कुरामा कसैको सोच भएन । त्यसैले लघु तथा साना घरेलु उद्योगहरुको उत्पादन वृद्धि गर्ने, बढीभन्दा बढी रोजगारीको अवसर प्रदान गर्ने र उत्पादन भएका सामानहरु सबै ठाउँमा पुर्‍याउने हाम्रो चाहना हो ।

समाजः साना तथा घरेलु उद्योगहरु सञ्चालन हुँदाखेरी हुने फाइदाहरुचाहिँ के–के छन् ?
उप्रेतीः
साना तथा घरेलु उद्योग सञ्चालन हुँदा घरमा नै बसेर अधिकांश काम गर्छन्, रोजगारी पाउँछन् । आफ्नो घरमा बसेर फुर्सदको समयमा सामानहरु उत्पादन गर्ने गर्छन्, जसले गर्दा उनीहरुको आर्थिक समृद्धि हुने गर्दछ । विदेशहरुमा पनि लघु तथा साना उद्योग संघहरुले घरमै बसेर काम गर्ने गर्छन् र यहाँसम्म सामान आइपुग्छन् । हाम्रोचाहिँ कसरी लागत खर्च बढी भयो, कसरी भएन, के गर्ने भन्ने कुरा भएन । साना–साना उद्योगहरु फस्टाएपछि मात्र आर्थिक विकास हुन्छ, जिल्लाको विकास हुन्छ ।

समाजः अधिकांशले देखासिकी गरेरै घरेलु तथा साना उद्योगहरु सञ्चालन गरेको देखिन्छ । घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्दा के–के कुरामा विशेष ध्यान दिनुपर्छ ?
उप्रेतीः
सबैभन्दा पहिला उद्योग गर्ने मानिसहरुले यहाँ कस्तो उद्योग गर्दा ठीक हुन्छ, कस्तो किसिमको कच्चा पदार्थहरु छ, मकवानपुरमा कुन सामानको बजार राम्रो छ त्यसको अध्ययन गरेर त्यस किसिमको उद्योग सञ्चालन गरेमा सफल हुन सकिन्छ ।

समाजः तपाईंहरु कुनै व्यवसाय गर्नुभन्दा पहिला यो कुरामा ध्यान दिनुहोस् है भनेर आफ्ना सदस्यहरुलाई कसरी जानकारी दिइरहनुभएको छ ?
उप्रेतीः
नेपालमा चाहिँ के देखियो भने, अहिले हाम्रो घरेलु तथा साना उद्योगहरुले, मन्त्रालयले, विभागले विभिन्न बजेटहरु छुट्याएको छ । त्यो पनि दिने, मान्छेहरु चाहिँ कामको भन्दा भत्ताका लागि प्रशिक्षणमा आउने र एउटै भत्ता पाउन मान्छेले ५ किसिमको सीप सिक्ने तर काम नगर्ने अवस्था बढ्दै गएको छ । जे काम गरिरहेको छ, यो काम नै ठूलो हो, म आफूले गरिरहेको कामलाई नै राम्रो बनाउँदै लैजान्छु, यसैबाट म निर्वाह गर्छु भन्ने दृढता व्यवसायीमा हुनुपर्छ । एउटै व्यवसायलाई निरन्तररुपमा सञ्चालन गरियो भने त्यसले व्यवसायबाट लाभ लिन सक्छ ।

समाजः कुनै व्यक्तिले स्वलगानीमा साना तथा घरेलु उद्योग सञ्चालन गर्न सक्दैन ? घरेलु कार्यालयमा गएर दर्ता गर्नु किन जरुरी छ ?
उप्रेतीः
घरेलुमा नै गएर किन दर्ता गर्नुपर्छ भने नेपाल सरकारले घरेलुमा दर्ता गरेर आयकर तिरेरमात्र उसले उत्पादन गरेको सामान बिक्री गर्न र बैङ्कबाट ऋण लिन पाउँछन् । नेपाल सरकारले त्यसको मूल्याङ्कन गर्छ, त्यसले काम गरेको छ भन्ने रेकर्ड राख्छ । घरेलुमा दर्ता गरेन भने मालसामानहरु अन्त लगेर बिक्री गर्न सकिँदैन, बैङ्कबाट ऋण पाउँदैन र उसको सामान बजारीकरण हुन पाउँदैन । अहिले महिलाहरुले ऋण लिएको छ भने बैङ्कले ५ प्रतिशतमा ऋण उपलब्ध गराइरहेका छन् । कसैले उद्योग दर्ता गर्न पाएन, सकेन, दर्ता गर्नुपर्‍यो, सहयोग र सहजीकरण चाहियो भने दर्ता हुन इच्छुकहरुले बायोडाटा ल्याएपछि दर्ता गर्न हामीले एक जना स्टाफ राखेका छौं ।

समाजः सरकारले विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गरिहेको छ, यसबाट लघु तथा साना घरेलु उद्योगले चाहिँ कत्तिको लाभ प्राप्त गरेको छ ?
उप्रेतीः
यसले लघु तथा साना घरेलु उद्योगलाई कुनै पनि फाइदा भएको छैन । जस्तो कुषि र पशुपालनमा नेपाल सरकारले ठूलो अनुदान रकम प्रदान गरेको छ । त्यो अनुदान उनीहरुले उत्पादनमा नदिएर लागतमा दियो । बिक्रीमा सरकारले अनुदान दिनुपर्ने, तर बिक्रीमा अनुदान नदिएर उद्योग दर्ता गरेपछि मात्र अनुदान दियो । अनुदानचाहिँ ठूलाबडा र ठूला टाउकाहरुलाई, जसको पहुँच छ, तिनीहरुले लिए । गाउँमा बसेर साना व्यवसाय गर्नेलाई कुनै अनुदान भएन । अरबौं लगानी गर्नेहरुले ३–५ प्रतिशत ब्याजमा कृषि ऋणहरु लिएर बसेका छन् । प्रदेश सरकारले अथवा केन्द्र सरकारले पनि बिक्रीमा अनुदान दिनुपर्छ । कति उत्पादन भएको छ, त्यसअनुसार सरकारले अनुदान दिनुपर्छ । सबै अर्बपतिहरुले सरकारको अनुदान र सहुलियत कर्जा लिएर जग्गाहरु किन्ने गरेको पाइन्छ । अहिले सरकारले हे¥यो भने कुनै पनि अनुदान दिएको कृषि फर्म कसैको पनि छैन । अनुदान लिए, पैसा लगे गए । त्यस्ता कार्यलाई सरकारले रोक्नुपर्छ ।

समाजः अहिले घरेलु तथा साना उद्योगको नेतृत्व तपाईंको हातमा छ, तपाईंको योजना कस्तो रहेको छ ?
उप्रेतीः
मैले अब नीति निर्माण तहमा बस्ने मानिसहरुसँग भेट्ने, उनीहरुलाई हाम्रा समस्या तथा कठिनाईहरु बताउने र उनीहरुको कुरा सुन्ने गरिरहेको छु । घरेलु तथा साना उद्योगको हितमा नीति तथा कार्यक्रम ल्याउन सुझाव दिने योजना मैले अघि सारेको छु । नेपाल सरकारले अहिले १३ प्रतिशत भ्याट लगाएको छ । अब लघु तथा साना उद्योगहरुलाई सरकारले ५ प्रतिशतमात्र भ्याट लगाउनुपर्छ भन्ने हाम्रो माग रहेको छ । ठूला उद्योगहरुसँग लिनेभन्दा साना उद्योगसँग लिने करमा छुट भयो भने घरेलु उद्योग सञ्चालन गर्न सजिलो हुन्छ र लागत खर्च कम हुन्छ । यसले सरकारले दिने अनुदानको दुरुपयोग पनि हुन पाउँदैन । यस कुरामा सरकारले ध्यान दिनुपर्छ ।

Exit mobile version