Home मुख्य समाचार बागमती प्रदेशको प्रमुख सचिवमा डा. पौडेल आउँदै

बागमती प्रदेशको प्रमुख सचिवमा डा. पौडेल आउँदै

हेटौंडाः बागमती प्रदेशको पाँचौ प्रमुख सचिवको रुपमा संघीय सरकारका सचिव डा. मुकुन्दप्रसाद पौडेल आउनुहुने भएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्यायका अनुसार सम्भवत बिहीबारदेखि पौडेलले आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसअघि बागमती प्रदेशका प्रमुख सचिवको रुपमा डा. मानबहादुर बीकेले ९ महिना काम गर्नुभएको थियो । उहाँभन्दा अघि प्रदेशमा प्रमुख सचिवको रुपमा तोयम रायले ९ महिना, आनन्दराज ढकालले एक वर्ष र रेश्मिराज पाण्डेले ७ महिना कार्य गर्नुभएका थियो । पाण्डेले बागमती प्रदेशको प्रथम प्रमुख सचिवको रुपमा ७ महिना काम गर्नुभएको हो ।

बागमती प्रदेशमा गएको ३ वर्षमा प्रमुख सचिव र सचिवहरु परिवर्तन भइरहँदा प्रदेशको विकासमा ठूलो धक्का लागेको छ । संंघीयता कार्यान्वयन सुरु भएसँगै बागमती प्रदेशको प्रमुख सचिव पाँच जना परिवर्तन भएका छन् । उनीहरु एकै प्रदेशमा कम्तिमा पनि २ वर्ष टिक्न नसक्दा विकासका कामहरु प्रभावकारी हुन सकेको छैन ।

बागमती प्रदेशको मन्त्रालयगत अवस्था हेर्दा सचिवहरुको टर्नओभर धेरै भएको पाइन्छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि गएको ३ वर्षमा आधा दर्जनभन्दा बढी सचिवहरु परिवर्तन भएका छन् । हालै मन्त्रालयमा सचिवको रुपमा यज्ञप्रसाद ढुंगेलल सरुवा भएर आउनुभएको छ । यसअघि सामाजिक विकास मन्त्रालयको सचिवमा दीपक काफ्लेले काम गर्नुभएको थियो । प्रदेशको सात मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयमा सचिवहरुको धेरै ‘टर्नओभर’ भएको हो । मन्त्रीहरुले आफूअनुकूल सचिव रुचाउने भएका कारण पनि सचिवहरुको ‘टर्नओभर’ बढी देखिएको छ ।

यस्तै, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि ४ जना सचिवहरुले हालसम्म काम गरेका छन् । मन्त्रालयमा पहिलो सचिवको रुपमा जीवज मण्डलले काम गर्नुभएको थियो । त्यसपछि कौशल किशोर झा, तेजराज भट्ट र हाल सञ्जीव बरालले सचिवको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पहिलो मन्त्रीको रुपमा केशव स्थापितले काम गर्नुभएको थियो भने उहाँलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेसँगै दोस्रो मन्त्रीको रुपमा रामेश्वर फुयाँलले जिम्मवेवारी सम्हाल्नुभएको छ । यो मन्त्रालय प्रदेशको सातवटा मन्त्रालयमध्ये बढी बजेट विनियोजन हुने मन्त्रालय हो ।
यसैगरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हाल चौथो सचिवका रुपमा मदन भुजेल कार्यरत रहनुभएको छ । यसअघि मन्त्रालयको सचिवको रुपमा बलदेवप्रसाद जोशी, राजकुमार श्रेष्ठ, विनोदप्रकाश सिंहले काम गर्नुभएको थियो । उहाँहरुले पनि मन्त्रालयमा ६ महिनादेखि एक वर्षसम्म काम गर्नुभएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको पाँचौरु सचिवको रुपमा डण्डुराज घिमिरेले काम गर्दै आउनुभएको छ । यसअघि आर्थिक मामिला मन्त्रालयमा डा. मुकुन्दप्रसाद पौडेलले ११ महिना सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नै बागमती प्रदेशको प्रमुख सचिवको रुपमा आउनुहुने भएको छ । यसअघि मन्त्रालयमा बसन्त अधिकारी, केवलप्रसाद भण्डारी, बालकृष्ण घिमिरेलगायतले सचिवको रुपमा काम गरेका थिए । उनीहरु ४ महिनादेखि ९ महिनासम्म बागमती प्रदेशमा कार्यरत थिए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पाँचौं सचिवकै रुपमा डा. मतिना वैद्य जोशी कार्यरत हुनुहुन्छ । यसअघि मन्त्रालयमा डा. बंशी शर्मा न्यौपाने, डा.विजयचन्द्र झा, निर्मल गदाल, डा. योगेन्द्रकुमार कार्कीले २ महिनादेखि ९ महिनासम्म कार्य गरेका छन् ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा भने जम्मा १ जना सचिव परिवर्तन भएका छन् । मन्त्रालयको पहिलो सचिवको रुपमा शिव वाग्लेले जिम्मेवारी सम्हाल्नुभएको थियो भने हाल सचिवमा सिन्धुप्रसाद ढुंगाना कार्यरत हुनुहुन्छ ।

प्रदेशमा संघीय सरकारले सरुवा गरेर आउने सहसचिव तथ सचिवहरुले थोरै समय काम गर्दा प्रदेशको विकास दु्रत गतिमा बढ्न सकेको देखिँदैन । २ महिनामै हुने सचिवका सरुवाले गर्दा प्रदेशको बजेट खर्च पनि बढ्न सकेको छैन । बागमती प्रदेशले कुल बजेटको ६० प्रतिशतमाथि हालसम्म खर्च गर्न सकेको छैन । थोरै समयको लागि आएका सचिवहरुले प्रदेशको विकासमा कुनै पनि भूमिका खेल्न भने सकेका छैनन् । बागमती प्रदेश सरकारले प्रमुख सचिव र सचिवहरुलाई कम्तिमा पनि २ वर्ष प्रदेशमा टिकाउन सक्नुपर्ने आवश्यकता देखिएको छ ।

Exit mobile version