Home खेलकुद राजर्षी जनक कपमा पिप्ले विजयी

राजर्षी जनक कपमा पिप्ले विजयी

हेटौंडाः सर्लाहीको बाग्मती नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौं राजर्षि जनक कप फुटबल प्रतियोगितामा हेटौंडाको पिप्ले युवा क्लबले विजयी सुरुवात गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित प्रतियोगितामा काठमाडौंको चन्द्रागिरी नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै पिप्ले युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । चन्द्रागिरीलाई पहिलो हाफमै २ गोल गरेर हेटौंडाले स्तब्ध बनाएको हो ।

हेटौँडाका लागि विदेशी खेलाडी ग्लोरीले खेलको २५ औं मिनेटमा आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै, दिपेश आलेले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनी खेलका म्यान अफ दी म्याच घोषित भए ।

बाग्मती क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । क्लबका अध्यक्ष किस्मतराज मैनालीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर रावतले गरेका थिए । आइतबारको खेल सेन्ट्रल कलेज विएफसी भरतपुर चितवनविरुद्ध एपीएफ काठमाडौंबीच खेल हुनेछ ।

Exit mobile version