Home मुख्य समाचार हेटौंडा उपमहानगरका २९ विद्यालयमा ४२ जना शिक्षक थपिँदै

हेटौंडा उपमहानगरका २९ विद्यालयमा ४२ जना शिक्षक थपिँदै


हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले दरबन्दी मिलानको प्रक्रियामा दरबन्दी बढी भएका विद्यालयबाट दरबन्दी खाली भएका विद्यालयमा जानका लागि आवेदन दिन शिक्षकलाई आव्हान गरेको छ । मंगलबार सूचना प्रकाशित गरेर उपमहानगरपालिकाले दरबन्दी बढी भएका विद्यालय र दरबन्दी थप हुने विद्यालयको सूचि पनि सार्वजनिक गरेको छ ।

दरबन्दी मिलानको क्रममा हेटौंडा उपमहानगरक्षेत्रका २९ वटा विद्यालयमा ४२ वटा शिक्षक दबरन्दी कट्टा भएर २९ वटै विद्यालयमा दरबन्दी थप हुने भएको छ । दरबन्दी मिलानका लागि शिक्षकलाई निवेदन दिन उपमहानगरले १० दिनको म्याद दिएको छ । अहिले दरबन्दी मिलान हुन लागेका सबै प्राथमिक तहका शिक्षकहरु हुन् । गत माघ १० गते नगर शिक्षा समितिले दरबन्दी मिलान गर्ने निर्णय गरेको थियो ।

दरबन्दी मिलानका लागि आव्हान गरेअनुसार निवेदन दिएपछि शिक्षा विकास महाशाखाले सरुवाको प्रक्रिया पूरा गर्ने बताइएको छ । यदि १० दिनभित्र आवेदन प्राप्त नभए नियमानुसार शिक्षा विकास महाशाखाले नै दरबन्दी मिलान गरिदिने शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।

दरबन्दी मिलानको क्रममा सबैभन्दा बढी सिद्धार्थ मावि र महेन्द्र माविमा ३/३ वटा दरबन्दी कटौति हुनेछ भने सबैभन्दा बढी विश्वज्योति आधारभूत विद्यालय, गोरक्षनाथ मावि, सुप्रभात आधारभुत विद्यालय र भृकुटी माविमा ३/३ वटा दबरन्दी थप हुनेछ ।

Exit mobile version