Home मुख्य समाचार सहकारी व्यवस्थापन तथा लेखा तालिम सुरु

सहकारी व्यवस्थापन तथा लेखा तालिम सुरु

तालिमको उद्घाटन गर्नुहुँदै उपमेयर मीना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेका कृषि, दुग्ध र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा समितिका पदाधिकारीका लागि ४ दिने सहकारी व्यवस्थापन तथा लेखा सम्बन्धी तालिम सोमबारबाट सुरु भएको छ । ग्रामीण महिला सेवा केन्द्रको समन्वय तथा आयोजनामा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

ग्रामीण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष उर्मीला कार्कीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाकी प्रमुख गंगाकुमारी चौलागाईको पनि उपस्थिति रहेको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले उपमहानगरपालिकाले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने कार्य पूरा गर्नुका साथै कृषि तथा पशुपालनको क्षेत्रमा सहकारीमार्फत नै अनुदान वितरणको कार्य गर्दै आएको बताउनुभयो । उहाँले अब उपमहानगर सहकारीको नियमनको पाटोमा पनि अग्रसर हुने बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी सहकारी शाखाकी प्रमुख गंगाकुमारी चौलागाईले वडागत समन्वय समिति गठन गरेर निष्क्रिय सहकारीको व्यवस्थापनको कार्य गरिने बताउनुभयो । हेटौंडा उपमहानगर क्षेत्रमा दुई सय ७८ वटा सहकारी दर्ता भएको देखिए पनि करिब ८० वटा सहकारी मात्रै सक्रिय देखिएको उल्लेख गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मीला कार्कीले स्थानीय सरकारसँग सहकार्य गरेर ग्रामीण महिला सेवा केन्द्रले लामो समयदेखि आर्जन गरेको ज्ञानलाई उपयोग गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

Exit mobile version