Home मुख्य समाचार स्थानीय तहमै कोरोनाविरुद्ध खोप लगाउने तयारी

स्थानीय तहमै कोरोनाविरुद्ध खोप लगाउने तयारी


हेटौंडाः मकवानपुरको १० वटै स्थानीय तहमा खोप केन्द्र निर्माण गरी कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । गत माघ १४ गतेदेखि हेटौंडा अस्पताबाट मकवानपुरमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

मकवानपुर जिल्लाको लागि एकमात्र हेटौंडा अस्पताललाई खोप केन्द्र निर्धारण गरिएको थियो । अब भने जिल्लाको १० वटै स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र निर्माण गरेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

फागनु २३ गतेबाट ६५ वर्ष माथिका नागरिकलाई १० दिन र ५५ वर्ष माथिका नागरिकहरुलाई १० दिन गरी २० दिन खोप अभियान चल्ने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । मकवानपुर जिल्लामा ५७ हजार आम नागरिकहरुलाई खोप दिइने भएको हो ।

हेटौंडा उपमहानगरपालिको ६ स्थानबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी भएकोे छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख भोला चौलागाईंका अनुसार हेटौंडाको हटिया, पदमपोखरी, लामसुरे, कमाने, बसामाडी तथा हेटौंडा अस्पतालबाट खोप अभियान सञ्चालन हुनेछन् । खोप अभियान सञ्चालन गर्न एमबीबीएस डाक्टर भएको स्थान छनौट गर्नुपर्ने भएका कारण धेरै स्थानमा अभियान सञ्चालन गर्न नसकिएको प्रमुख चौलागाईंले जानकारी दिनुभयो ।

यस्तै मकवानपुरगढीमा मक्रान्चुलीस्थित कोभिड अस्पतालबाट खोप अभियान सञ्चालन गरिने भएको छ । मकवानपुरगढीमा पालिकास्तरीय खोप अभियानको अभिमुखीकरणसमेत भइरहेको छ । स्वयम्सेवक, स्वास्थ्य चौकीमा कार्यरतहरुलाई अभिमुखीकरण गरिएको हो ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा वडा नम्बर ८ देवीटारमा खोप केन्द्र निर्माण गरेर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीले जानकारी दिनुभयो । सोहीअनुरुप अन्य पालिकाहरुले पनि तयारी गरेका छन् ।

कैलाश गाउँपालिकाले ६५ वर्ष नाघेका आम नागरिकहरुलाई आफ्नो स्थानीय तहको ६ वटा स्वास्थ्य चौकीबाटै कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको बताउनुभयो । चैत्र ५ गतेसम्म ६५ वर्षमाथिका आम नागरिकहरुलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

Exit mobile version