Home मुख्य समाचार भैसेदेखि भीमफेदीसम्म सडक १० मिटर चौडा गरिने

भैसेदेखि भीमफेदीसम्म सडक १० मिटर चौडा गरिने

फाइल तस्बिर

हेटौंडाः हेटौंडाबाट काठमाडौं जाने छोटो मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको बाटो फराकिलो पारिने भएको छ । भैंसेदेखि भीमफेदीसम्म १४ किलोमिटर सडक १० मिटर चौडा हुनेगरी सडक फराकिलो पार्न लागिएको हो ।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक सहदेव भण्डारीका अनुसार आशीष जेभीसँग ३८ करोडमा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक फराकिलो पार्ने क्रममा अहिले छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० मिटर सडक चौडा गर्ने क्रममा घरहरु परेमा त्यसको क्षतिपूर्ति दिने तथा जग्गामात्र परेमा के गर्ने भन्नेबारे छलफल भइरहेको जनाएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीदेखि कुलेखानी हेभीसम्मको सडक फराकिलो पार्ने काम गरिरहेको छ । भीमफेदीदेखि चकमकेसम्म ८ किलोमिटर सडक १० मिटर फराकिलो पार्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । त्यसमध्ये ६ मिटर सडक कालोपत्रे गरिनेछ । यस्तै चकमकेदेखि हेभीसम्म ७.५ किलोमिटिर सडक १० मिटर चौडाई गर्ने कार्य चलिरहेको छ ।

सडक फराकिलो पार्ने काम यही फागुन अन्तिमसम्म सकिने निर्देशक भण्डारीले जानकारी दिनुभयो । उहाँले आगामी चैत्र महिनाको १० गतेबाट हेटौंडा–काठमाडौं जाने भीमफेदी–सिस्नेरीको बाटो साना सवारीहरुका लागि खुला गरिने बताउनुभयो ।

Exit mobile version