Home कला विद्यार्थीको रचना सुन्दै सुरु भएको बकैया साहित्य महोत्सव सर्जकलाई सम्मान गर्दै सकियो

विद्यार्थीको रचना सुन्दै सुरु भएको बकैया साहित्य महोत्सव सर्जकलाई सम्मान गर्दै सकियो

बकैयाः झरना साहित्यिक परिवारले आयोजना गरेको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन महोत्सव आयोजना गरिएको थियो । महोत्सवको पहिलो दिन शुक्रबार बालबालिकाका रचना वाचन तथा पठन संस्कृतिबारे परिचर्चा कार्यक्रमको आयोजना गरिएको थियो भने शनिबार स्रष्टा सम्मानसहित युवा पुस्ताको रचना वाचन गरिएको थियो ।

महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम उपाध्याय सम्मानित हुनुभएको छ । नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार नुरप्रसाद गौतमले स्थापना गर्नुभएको हो । विनोद सुवेदीले स्थापना गर्नुभएको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मानबाट मकवानपुरका अग्रज कवि आरआर चौलागाईं सम्मानित हुनुभएको छ ।

बकैया महोत्सवमा शुक्रबार रचना वाचन गर्दै एक विद्यार्थी ।

अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गर्नुभएको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिएको छ । त्यसैगरी बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गर्नुभएको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवानपुरकी साहित्यकार रुकु कार्की सम्मानित हुनुभएको छ । तुलसी गिरीले स्थापना गर्नुभएको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिएको छ भने बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कारबाट पत्रकार खेम बोलखे पुरस्कृत हुनुभएको छ ।

यस्तै, चन्द्र कुमार राईले स्थापना गर्नुभएको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कारबाट बकैया–४ की दीपशिखा घिमिरे पुरस्कृत हुनुभएको छ । स्थानीय प्रतिभाको रुपमा बासुरी बादक गोपाल घतानीलाई सम्मान गरिएको छ ।

शनिबारको श्रृंखलामा कविता र गजल÷मुक्तक प्रस्तुत भएका थिए । कार्यक्रममा कवि विर्खे अन्जान, सुवास खनाल, छवि अनित्य, पुरुषोत्तम आचार्य, यश लामा, सन्दिप संग्रौला, मुना अर्याल, राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सविता तिमल्सिना, सन्तराम राई, बलराम घिमिरे र रुपा थापाले कविता वाचन गरेका छन् । त्यसैगरी हरि पौड्याल, धर्मराज स्याङ्तान, विशाल अधिकारी, सुन्दर कार्की, डिवि बर्तौला, भवानी तिमल्सिना, हिरा शाक्य र बगेकी गंगाले गजल÷मुक्तक वाचन गरे ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा सञ्चालन भएको शनिबारको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको विशिष्ट आतिथ्य रहेको थियो । बकैया गाउँ कार्यपालिका सदस्यहरु सोम तिमल्सिना, लक्ष्मी माझी, सम्मानित स्रष्टाहरु, रचना वाचन गर्ने कवि÷गजलकार तथा सर्जकहरुको आतिथ्य रहेको थियो ।

महोत्सव अन्तर्गत पहिलो दिन शुक्रबार बाल साहित्य विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका विभिन्न १६ विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुले आफ्ना रचना वाचन गरेका थिए । बालबालिकाहरुमा रहेका साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन भएको अध्यक्ष दीपक गौतमले बताउनुभयो । झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत जिल्लाका ६० भन्दा बढी विद्यालयहरुमा बाल साहित्य समिति गठन गरेको छ । उक्त समितिको समन्वयमा साहित्यमा सक्रिय बालबालिकाहरुको प्रस्तुती पहिलो दिन भएको थियो ।

साथै, महोत्सवको पहिलो दिन ‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’ विषयक बहस पनि भएको थियो । बहसमा झरना साहित्यिक परिवारका पूर्व अध्यक्ष उद्धव सापकोटा, पत्रकार सुरेश श्रेष्ठ, प्रभात माविकी नेपाली विषयको शिक्षिका लक्ष्मी जिम्बा तथा विद्यार्थीहरु नवोदय शिशु सदनका इलिसा पराजुली र कालिदेवी माविका निराजन नेपालको सहभागिता रहेको थियो । उक्त बहसको सहजीकरण झरनाका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले गर्नुभएको थियो ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा भएको पहिलो दिनको कार्यक्रममा बकैया–५ का वडाध्यक्ष शेरमान घलान, वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल, साहित्यकारहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । बकैया–५ श्रीपुरस्थित प्रभात मावि परिसरमा महोत्सव सञ्चालन भएको हो ।

Exit mobile version