Home मुख्य समाचार प्रजातन्त्र दिवसमा ५८० कैदीको सजाय मिनाहा, भीमफेदीका ५० कैदीको नाम सिफारिस

प्रजातन्त्र दिवसमा ५८० कैदीको सजाय मिनाहा, भीमफेदीका ५० कैदीको नाम सिफारिस

हेटौंडाः सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर पाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १ सय ७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४ सय १ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेको संख्या ५ सय ९५ छ । बाँकी सजाय मिनाहा पाएकामध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी हुन् । यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ । आममाफीका लागि गृह मन्त्रालयबाट ४० जनाको सिफारिस गएकोमा २५ जनाको सूची फिर्ता गरिएको स्रोतको भनाइ छ । आममाफीको सिफारिसमा परेका व्यक्तिबारे राष्ट्रपतिबाट निर्णय नभई बोल्न नमिल्ने गृह मन्त्रालयका अधिकारीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को निर्णय अनुसार कैद मिनाहा र आममाफी भए सिफारिस भएका कैदी कारागार मुक्त हुनेछन् ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका र जेलरबाट प्रमुख जिल्ला अधिकारी हुँदै सिफारिस भई आएका ४ सय १ जना र २०७४ अघिको कानुनअनुसार १ सय ७९ जनालाई बाँकी सजाय कट्टा गरिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

यसैबीच मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका ५० जना कैदीहरुको कैद मिनाहाका लागि सिफारिस गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा देशभरका विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका असल आचरण भएका कैदीको कैद मिनाहाको घोषणा हुनेछ । भीमफेदी कारागारका प्रमुख मतृकाप्रसाद ढकालका अनुसार असल आचरण भएका तथा विभिन्न मापदण्ड पूरा गरेका कैदीहरुलाई ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत गरी सरकारले कैद मिनाहा गर्ने गरेको छ । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस तथा संविधान दिवसमा कैद मिनाहा गर्ने गरिएको छ ।

भीमफेदी कारागारमा फागुन १ गते शनिबार ६ सय ७९ जना कैदीहरु रहेका छन् भने बन्दी (थुनुवा) दुई सय ८८ जना रहेका छन् । यस्तै विदेशी ७६ जनासहित नौं सय सात जना कैदीबन्दी कारागारमा रहेका छन् । कारागारमा सबैभन्दा धेरै लागूऔषधको मुद्दामा तीन सय ८८ जना रहेका छन् भने जबरजस्ती करणीको मुद्दामा दुई सय १७ जना रहेका छन् । यस्तै कर्तव्यज्यान मुद्दामा एक सय ६३ जना रहेको कारागार प्रमुख मातृका प्रसाद ढाकालले बताउनु भयो ।

Exit mobile version