Home मुख्य समाचार बैशाख १७ को निर्वाचन तयारी, मतदानस्थलको सुरक्षा चुनौतिको मूल्यांकन हुँदै

बैशाख १७ को निर्वाचन तयारी, मतदानस्थलको सुरक्षा चुनौतिको मूल्यांकन हुँदै

हेटौंडाः आगामी बैशाख १७ गतेका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले आव्हान गरेको प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा पनि तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले निर्वाचनको तयारी स्वरुप नै बिहबिार हेटौंडामा निर्वाचन आचारसंहितासम्बन्धमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र पत्रकारसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा भएको अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी गोविन्द प्रसाद पौडेलले निर्वाचन आचारसंहिताबारे जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनको सुरक्षाका दृष्टिले मतदानस्थलको सुरक्षा जोखिमको मूल्यांकन गर्ने कार्य भइरहेको बताउनुभएको छ । सुरक्षाका दृष्टिकोणले जोखिमस्थलको पहिचान गरेर आवश्यक सतर्कता र सुरक्षा रणनीति बनाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभएको छ । सुरक्षाको जोखिमका आधारमा एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सम्पन्न गर्नेतर्फ जिल्ला सुरक्षा समितिले आवश्यक काम गर्ने पनि प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ थियो ।

निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलन गर्ने कार्य पनि भइरहेको उहाँले स्पष्ट पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचनको तयारीस्वरुप मतदान स्थल र मतदान केन्द्र अद्यावधिक गर्ने काम पूरा भएको जानकारी दिनुभयो । सरकारले बैशाख १७ गतेका लागि घोषणा गरेको निर्वाचन कार्यक्रमका लागि मकवानपुरमा एक सय ६५ निर्वाचन स्थल र तीन सय ३९ मतदान केन्द्र प्रस्ताव गरी निर्वाचन आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लामा दुई लाख ७२ हजार चार सय ७८ मतदाता रहेको विवरण निर्वाचन आयोगले आयोगको केन्द्रीय कार्यालयमा पठाएको छ । यसअघि २०७४ सालको निर्वाचनमा मकवानपुर जिल्लामा एक सय ६४ मतदानस्थल र तीन सय २४ मतदान केन्द्र रहेको थियो । यस्तै मतदाताको संख्या पनि दुई लाख ५५ हजार छ सय चार जना रहेको थियो ।

Exit mobile version