Home मुख्य समाचार जनयुद्ध दिवसको औचित्य

जनयुद्ध दिवसको औचित्य

नेपालमा गणतन्त्रको स्थापना हुनु जनयुद्ध र जनआन्दोलनको परिणाम हो । तत्कालीन माओवादीले सशस्त्र जनयुद्ध नगरेको थियो भने गणतन्त्रका लागि अन्य दलहरु सहमत हुने थिएनन् । यो वास्तविकतालाई आत्मसात गर्दा जनयुद्ध दिवस कुनै एक पार्टी वा समूहको भन्दा राज्यले नै स्वीकार गर्नुपर्ने महत्वपूर्ण दिन हो । विगत वर्षहरुमा माओवादी पक्षले मात्र मनाएको यो दिवस गतवर्ष नेकपाले धुमधामका साथ स्वीकार गरेको थियो, तर यो वर्ष नेकपाभित्रको विवादले दिवस एक समूहमा सिमित भएको छ । सरकारी नेकपाले यो दिवसलाई उत्सवका रुपमा मनाउन सकिरहेको छैन । माओवादी पृष्ठभूमिबाट आएका गृहमन्त्रीले आफ्नो समूह जोगाउनमात्र केही कार्यक्रम गरेका छन् । उता प्रचण्ड–माधव समूहले पनि साँघुरो घेरामा मात्र दिवस मनाएको छ ।

फागुन १, २०५२ सालबाट तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि दश वर्षसम्म देश पूरै अशान्त बनेको थियो । दोहोरो शासनसत्ताका कारण नेपाली जनजीवन निकै प्रभावित भयो । सशस्त्र संघर्षलाई कतिपय अवस्थामा व्यक्तिगत रिसइवी साँध्ने माध्यम पनि बनेको थियो । माओवादीको ज्यादतीले गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको महत्वकांक्षा बढ्यो । ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सात दल र माओवादीबीच आन्दोलनका लागि सहमति हुनु नै आजको गणतन्त्रका लागि मार्गप्रशस्त भएको देखिन्छ । यही मान्यताका आधारमा पनि गणतन्त्रको सुरुवाती जस फागुन १ गतेलाई नै जान्छ । गणतन्त्र स्वीकार गर्ने सबै दल र कार्यकर्ताका लागि जनयुद्ध दिवस ऐतिहासिक दिन हो ।

सशस्त्र द्वन्द्वका क्रममा सबै राम्रा काममात्र भएका छैनन् । खराब पक्षलाई सधैं स्मरण गर्नुभन्दा बिर्संदै नागरिकमा आएको राजनीतिक जागरणलाई सबैले स्वीकार गर्नु पर्दछ । तर जसले सशस्त्र द्वन्द्व गर्‍यो, उही शक्ति यतिबेला छिन्नभिन्न भएको छ । सशस्त्र आन्दोलन सञ्चालन गर्ने दल नै दर्जन बढी समूहमा विभक्त छ । सशस्त्र द्वन्द्वका कमाण्डरहरु यतिबेला सेनाविहीन बनेका छन् । जनयुद्ध सञ्चालन गर्ने नेतृत्व नै पटक–पटक सत्तामा पुगे पनि आन्दोलनमा सहभागी भएका, द्वन्द्वपीडित, अपांगता भएका वा घाइतेहरु कसैले नयाँपन पाउन सकेनन् । तर नेतृत्व वर्ग भने राज्यको सुखसुविधामा रमाएको छ । त्यसैले कमान्डर एकातर्फ र सेना अर्को कित्तामा पुगेका छन् । जसले गर्दा जनयुद्ध दिवस कमजोर र औपचारिकतामा सिमित बन्न बाध्य भएको हो ।

पूर्वजनमुक्ति सेना प्राप्त उपलब्धीलाई स्वीकार र रक्षा गर्दै सहज जीवन धान्न चाहन्छन् । तर उनीहरुको आवाज यतिबेला सुनिन छोडेको छ । दलगत स्वार्थका लागि पूर्वलडाकुलाई प्रयोग गर्ने अवस्था भएपछि परिवर्तनका वास्तविक बाहकहरु निराश हुनु स्वभाविक हो । शहीद र वेपत्ताका परिवार, घाइते र अपांगता भएकाहरुको अवस्थाप्रति राजनीतिक नेतृत्वलाई कुनै वास्ता छैन । नेतृत्व सत्तास्वार्थमा लागेपछि पूर्वलडाकुहरु आफ्नो योगदान खेर जाने त हैन भन्ने द्विविधामा पुगेका छन् । गणतन्त्रकै जगलाई बलियो बनाउने गरी पाएको जनमतसमेत सत्तारुढ दल नेकपाले धान्न नसकेपछि प्राप्त उपलब्धीप्रतिको आशंका बढेका छ । तसर्थ गणतन्त्र नेपालको आधार जनयुद्ध दिवसलाई उत्साहमा रुपान्तरण गर्न आवश्यक छ ।

Exit mobile version