Home मुख्य समाचार विवरण संकलन अस्तव्यस्त

विवरण संकलन अस्तव्यस्त

हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा यतिबेला नेपाली राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएको छ । वडास्तरमै घुम्ती शिविरमार्फत् विवरण संकलन गर्न सुरु गर्दा स्थानीय नागरिकले सहजै सेवा पाउने अपेक्षा गर्न सकिन्छ । उपमहानगरपालिकाभित्र ४३ जनाको टोलीले राष्ट्रिय परिचयपत्रका विवरण संकलन कार्य सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय जनप्रतिनिधि र एकाइहरुमार्फत् काम सुरु गरिएको छ । जिल्लाभर परिचयपत्रका लागि विवरण संकलन गरिने भएपनि पहिलो चरणमा उपमहानगरपालिकाबाट संकलनको कार्य सुरु भएको हो । हाल हेटौंडा उपमहानगरपालिकाको विभिन्न सात वटा वडाहरुमा विवरण संकलन सुरु भएको छ । १५ दिनको समय दिएर विवरण संकलन सुरु भए पनि कामको झण्झटिलो प्रकृति र जनशक्तिको अभावमा तोकिएको समयमा काम सम्पन्न हुने अवस्था छैन ।

परिचालन गरिएका स्वयम्सेवकहरुलाई हालसम्म पनि आधिकारिक पत्र नै दिइएको छैन । मौखिकरुपमा जिम्मेवारी दिएर काममा लगाइएको छ । उनीहरुको सेवा सुविधा अन्यौलमा छ भने जनशक्ति कम हुँदा कामको चाप बढेको छ । केन्द्रहरुमा सामान्य व्यवस्थापनको जिम्मेवारी पनि कसको हो भन्ने यकिन छैन । यस्तै परिचयपत्रको आवश्यकता र औचित्यका विषयमा नागरिक पनि स्पष्ट हुन सकेका छैनन् । कतिपय केन्द्रहरुमा स्वयम्सेवक र नागरिकबीच भनाभन नै भएका घटनाहरु छन् । कतिपय केन्द्रहरुमा उपयुक्त कोठा र आवश्यक फर्निचरको समेत अभाव देखिएको छ । महत्वपूर्ण परिचयपत्रका लागि विवरण संकलन कार्य अत्यन्त अस्तव्यस्त देखिएको छ । यस्तो व्यवस्थापनले अपेक्षित नतिजा आउनेमा आशंका बढाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पठाएको २१ जना र चितवन जिल्लामा विवरण संकलन कार्य सम्पन्न गरेर आएका २२ जना गरी ४३ जनाबाट हेटौंडा उपमहानगरपालिकाको वडास्तरमै पुगेर विवरण संकलन भइरहेको छ । वडास्तरमा पुगेको घुम्ती शिविरले नेपाली राष्ट्रिय परिचयपत्रका लागि १६ वर्षमाथिका नागरिकता प्राप्त गरेको व्यक्तिको मात्रै विवरण संकलन गरिनेछ । विवाह भएका महिलाको हकमा भने विवाहदर्ता प्रमाणपत्रको आधारमा मात्र विवरण संकलन हुनेछ भने अन्य जिल्लाको नागरिकता भएमा बसाईसराईंको प्रमाण पेश गर्नु पर्नेछ । तर मानिसलाई पर्याप्त जानकारी दिन राज्यले सकेको देखिँदैन । त्यसैले विवरण संकलक र नागरिकबीच असमझदारी बढ्ने देखिएको छ ।

राष्ट्रिय परिचयपत्रले विभिन्न कार्य गर्न सहज हुनेछ । मतदाता परिचयपत्र, राष्ट्रिय पहिचानपत्र, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने, सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा काम गर्नेछ । यस्तै अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवाप्रदायक निकायहरुले झन्झटरहित, छोटो र कम लागतमा सेवा प्रदान गर्न सक्ने देखिन्छ । त्यसैले यो परिचयपत्रको महत्व उच्च भए पनि यसको औचित्यका विषयमा पर्याप्त जानकारी दिन सकिएको छैन । कतिपय मानिसलाई त विवरण संकलन हुँदै गरेको समेत थाहा छैन । तर जति नागरिक विवरण भराउन केन्द्रमा पुगेका छन्, उनीहरुलाई सेवा दिन पनि जनशक्ति र उपकरणको अभाव देखिएको छ । विवरण संकलन कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।

Exit mobile version