Home मुख्य समाचार मानवसेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार

मानवसेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार

हेटौंडाः मानवसेवा आश्रममा आश्रय लिएर बसेका आश्रितहरुले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा उपलब्ध सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क पाउने भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय र आश्रमबीच यससम्बन्धी सम्झौता भएको हो ।

एपीएफ अस्पतालबाट उपलब्ध हुने इमर्जेन्सी, बहिरंग, जनरल तथा विशेषज्ञ ओपीडी, अन्तरंगअन्तर्गत्का सबै, आईसीयू, एचसीयू, एचडीयू, उपलब्ध सबै किसिममा शल्यक्रिया, प्याथोलोजी, रेडियोलोजीलगायत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्झौता भएको छ । यसैगरी आईसीयू तथा डायलसिस सेवा, मुटु, मिर्गौला, मधुमेहलगायत रोगसँग सम्बन्धित औषधि निःशुल्क प्रदान गर्ने, अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराए निःशुल्क रिफिलिङ, निःशुल्क एम्बुलेन्स र शववाहन सेवा पनि उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

एपीएफ अस्पताल सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित स्वास्थ्य संस्था हो । अस्पतालको १ सय १० शैय्यामध्ये मानवसेवा आश्रमका लागि ३ वटा छुट्याइएको छ । आश्रम सञ्चालनका लागि खटिएका स्वयम्सेवक र कर्मचारीले पनि निःशुल्क सेवा पाउनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र आश्रमका संरक्षक गोविन्द टन्डनको उपस्थितिमा अस्पतालका तर्फबाट एसएसपी डा. रूपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Exit mobile version