Home मुख्य समाचार २०२१ को अन्त्यसम्ममा कतारका सम्पूर्ण नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइने

२०२१ को अन्त्यसम्ममा कतारका सम्पूर्ण नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइने

कतारः कतार सरकारले आफ्ना नागरिकसहित सम्पूर्ण आप्रवासीलाई सन् २०२१ को अन्त्यसम्ममा कोरोनाविरूद्ध खोप निःशुल्क वितरण गर्ने भएको छ । कतारको स्वास्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चार चरणमा सबैलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने जनाइएको हो ।

कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् । खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ । कतारमा कोरोना भाइरस विरुद्धकोे पहिलो खोप कतार युनिभर्सिटीका भुतपूर्व निर्देशक डा. अब्दुल्लाह अल कुबैसीलाई लगाइएको थियो । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिनलाई कतार सरकारले प्रयोगमा ल्याएको छ ।

कतारले पहिलो चरणमा ९ डिसेम्बर २०२० देखि ३१ मार्च २०२१ सम्म कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी, प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी, एम्बुलेन्स टिम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज, ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु, भाइरसबाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु, ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु, अन्य स्वास्थ्यकर्मी, आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारीलाई निःशुल्क खोप वितरण गरिने जनाएको छ ।

त्यस्तै अप्रिल १ देखि जून ३०, २०२१ सम्म दोश्रो चरणमा पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु, भाइरसबाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू, खाना, हाउसकिपिङ, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू, बा्ँकी शिक्षा क्षेत्रका कर्मचारी, पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू, ४० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई खोप बितरण गरिने भएको हो ।

त्यस्तै जुन १ देखि ३१ जुलाई २०२१ सम्म तेस्रो चरणमा युवा तथा बालबालिका (बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि), पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरुलाई खोप वितरण गरिने छ । त्यस्तै अगस्ट १ देखि ३१ अक्टोबर २०२१ सम्म चौथो चरण पहिलो, दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरुलाई खोप वितरण गरिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आगामी १० दिन भित्र मोडर्ना कम्पनीको खोप पनि कतार आइपुग्नेछ । गत सातादेखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५० हजार छ सय २१ पुगेको छ । त्यस्तै कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या दुई सय ४८ पुगेको छ भने करिब एक लाख ४५ हजार पाँच सय ५६ संक्रमणमुक्त भएका छन् । कतारले १३ लाख ७९ हजार ६६६ जनाको कोरोना जाँच गरिसकेको छ । कतारमा संक्रमित मध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् । हाल कतारमा करिव तीन लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

Exit mobile version