Home मुख्य समाचार बेतिनिको स्वास्थ्य चौकी भवन पालिकालाई हस्तान्तरण

बेतिनिको स्वास्थ्य चौकी भवन पालिकालाई हस्तान्तरण

स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको कागजात बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई हस्तान्तरण गर्नुहुँदै जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजा ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा निर्माणसम्पन्न स्वास्थ्य चौकी भवन पालिकालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजाले आइतबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष सर्केश घलानले वडा अध्यक्ष मदन कुमार दोराङ्च्याङलाई र वडा अध्यक्ष दोराङ्च्याङले स्वास्थ्यचौकी इन्चार्ज राप्रसाद सिञ्जाली मगरलाई भवन हस्तान्तरण गरिएको छ । एक करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन पुष्पाञ्जली जिम्बा जेभीले ठेक्का प्रक्रियाबाट एक करोड ३० लाख रुपैयाँमा निर्माण गरेर हस्तान्तरण गरेको हो । निर्माण कम्पनिले २ तलाको भवन सम्झौता अवधिमै निर्माण सकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले जानकारी दिनुभएको छ ।

गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्यचौकी भवन ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुर मार्फत मकवानपुर जिल्लामा पहिलो चरणमा निर्माण सुरु गरिएको ५ वटा स्वास्थ्य चौकी भवन मध्ये बेतिनीको भवन निर्माणसम्पन्न भई हस्तान्तरण भएको पहिलो भवन हो । पहिलो चरणमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको बसामाडी, कैलाश गाउँपालिकाको गोगने र डाँडाबास तथा राक्सिराङ गाउँपालिकाको चैनपुरमा स्वास्थ्य चौकी भवन निर्माणाधिन अवस्थामा छ । निर्माणाधिन चार वटै स्वास्थ्य चौकी भवन आगामी जेठ महिनासम्ममा निर्माण पूरा हुने इन्जिनियर पाठकले बताउनुभएको छ ।

Exit mobile version