Home मुख्य समाचार मानव अधिकारको अवस्थाबारे वार्षिक पूर्वसमीक्षा

मानव अधिकारको अवस्थाबारे वार्षिक पूर्वसमीक्षा

हेटौंडाः औपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शुक्रबार नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ प्रकाशन गर्ने सन्र्दभमा वार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा मकवानपुर जिल्लामा २०२० भित्र भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा जिल्ला समवन्य समितिका उपप्रमुख पुडासैनीले मानव अधिकारको क्षेत्रमा साना–ठूला घटनाहरु र हरेक घटनाको पछि लागेर मानव अधिकारको क्षेत्रमा उदाहरणीय कार्य गर्नु भएको भन्दै मकवानपुर जिल्ला इन्सेक पदाधिकारीहरुको प्रशंसा गर्दै खुशी व्यक्त गर्नुभयो ।

इन्सेकले कतै घटना हुनसाथ डाटामात्र संकलन नगरी प्रत्यक्ष रुपमा पनि सहयोग गरिरहेको र पत्रकारहरुले पनि गाउँगाउँमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरुलाई सबैसामु ल्याई कानुनी दायरामा ल्याउन मद्दत गरिरहेको भन्दै पुडासैनीले धन्यवाद दिनुभयो । मानवअधिकार उल्लङ्घनका घटनाहरु अदालतसम्म पुगे पनि न्याय सम्पादनमा ढिलासुस्ती हुनाले पीडित पक्ष झनै समस्यामा परेको बताउँदै न्यायसम्पादनलाई छिटोछरितो बनाउन न्यायका लागि वकालत गर्नेहरुको ध्यान जानु जरुरी रहेको पुडासैनीले बताउनुभयो ।

मकवानपुर जिल्लामा सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म मानव अधिकारको उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ५० जना महिला, १२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसंख्यक गरी ६३ जना पीडित भएको जानकारी दिइयो । त्यसैगरी बाल अधिकारको घटनामा १९ जना बालिका पीडित भएकोमा १२ जना बलात्कार र ६ जना यौन दुव्र्यवाहरबाट पीडित भएको र एक नवजात शिशुको हत्या भएको बताएको थियो ।

मकवानपुर जिल्लामा महिला अधिकारको घटनामा २२ जना बलात्कार, ५ जना बलात्कारको प्रयास, एकजना बेचविखन तथा ओसारपसारको प्रयास, २ जनाको परिवारजनबाटै हत्या गरी २८ जना पीडित भएको इन्सेको अभिलेखमा रहेको बताएको थियो ।

अघिल्लो वर्ष (सन् २०१९ मा) मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ४६ जना महिला र ५ जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट २ पुरुष गरी ५३ जना पीडित बनेका थिए । यस्तै, बालअधिकार उल्लङ्घनका घटनामा २३ जना र महिला अधिकार उल्लङ्घन घटनामा १९ जना पीडित बनेका थिए ।

कार्यक्रममा इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि एवम् पत्रकार प्रताप विष्ट, आरती पाठक, अधिवक्ता धुव्रप्रसाद चौलागाईंलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति थियो ।

Exit mobile version