Home मुख्य समाचार कम्युनिष्टले जनतालाई दुख दिएर देशलाई अप्ठ्यारोमा पार्योः डिना

कम्युनिष्टले जनतालाई दुख दिएर देशलाई अप्ठ्यारोमा पार्योः डिना

नेपाली कांग्रेस मकवानपुरको कार्यालय परिसरमा रहेको वीपी कोइरालाको अर्धकदको प्रतिमामा माल्यार्पण गर्दै कांग्रेस नेताहरु ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहिबार हेटौंडामा विचार गोष्ठीको आयोजना गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यमा विचार गोष्ठी भएको हो ।

गोष्ठीमा बोल्नुहुँदै केन्द्रीय सदस्य उपाध्यायले कांग्रेसका संस्थापक नेता वीपी, गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत अन्य शीर्ष नेताहरु राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले सम्झिरहने र अहिले देशको अवस्थालाई मध्यनजर गर्दा वीपीको नीति अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

देशमा कम्युनिष्टले बहुमत प्राप्त गरी ५ वर्षसम्म सरकार चलाउन दिएपनि जनताको मतलाई कुठाराघात गर्दै आन्तरिक किचलोका कारण देशलाई नै बन्धक बनाउने काम गरेको बताउँदै नेतृ उपाध्यायले कम्युनिष्टले जनतालाई दुःख दिँदै देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको बताउनुभयो ।

विसं २०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइरालाका साथ गणेशमान सिंह र अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल पठाइएको थियो भने २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

कार्यक्रममा कार्यवाहक सभापति लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले वीपी र गणेशमानको योगदान र राष्ट्रिय एकता तथा मेलमिलापको बारेमा प्रष्ट पार्नुभएको थियो ।

विचार गोष्ठीमा कांग्रेस मकवानपुरका पदाधिकारी, महासमिति सदस्यहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, वडासभापतिहरु, भातृ एवम् शुभेच्छुक संघसंगठनका पदाधिकारी एव सदस्यहरु, क्रियाशील सदस्यहरु र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version