Home अर्थ/व्यापार हेटौंडामा पाउडर दुध उद्योगको शिलान्यास

हेटौंडामा पाउडर दुध उद्योगको शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पाउडर दुध प्लान्टको भवन शिलान्यास गरिँदै

हेटौंडाः बागमती प्रदेश सरकारले पाउडर दुध उत्पादन गर्ने भएको छ । सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत धुलो दुध उत्पादन गर्न लागेको हो । सरकारले अधिक उत्पादन भएको बखतको दूध संकलन गरेर धुलो बनाउने र कम उत्पादन भएको बखत वितरण गर्ने उद्देश्यले दुग्ध पाउडर प्लान्टको शिलान्यास गरेको छ ।

हेटौंडा–१०, न्यूरेनीमा पाउडर दुध प्लान्टको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गर्नुभएको हो । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले उत्पादन गर्ने र उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न पाउडर प्लान्ट स्थापना गर्न लागिएको बताउनुभयो । पौडेलले सडकमा दुध पोख्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो । प्रदेश सरकार किसानका पक्षमा हरेक काम गर्न तयार रहेकोे बताउनुभयो । कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

बागमती प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले धुलो दुध उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । ४५ करोड रुपैयाँ लागत अनुमान गरेर निर्देशनालयले ठेक्काको प्रक्रिया सुरु गरेको थियो । चालु आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दैनिक ५ टन पाउडर दुध उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागिएको प्रदेश दुग्ध विकास बोर्डका अधिकृत सत्रुघन साहले जानकारी दिनुभयो । पाउडर दुध उद्योगका लागि २ बिगाहा जमिन छुट्याइएको छ ।

Exit mobile version