Home मुख्य समाचार एकसय दस छात्रालाई स्वास्थ्य सामग्री

एकसय दस छात्रालाई स्वास्थ्य सामग्री

हेटौंडाः विद्यालयमा अध्ययन गर्ने छात्रालाई रजश्वला भएको समयमा पनि अध्ययनमा निरन्तरता दिनका लागि एक गैरसरकारी संस्थाको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविका एक सय १० छात्रालाई विकासका लागि सहयोग र सहकार्य नेपालले महिनावारी स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले छात्राहरुलाई स्वास्थ्य सामग्रीको झोला वितरण गर्नुभएको छ । एक पटकमात्र प्रयोग गरेर फाल्ने सेनिटरी प्याडले वातावरणमा नकारात्मक असर गर्ने र प्रयोग गर्न नजानेको अवस्थामा जनस्वास्थ्यमा पनि असर पुर्‍याउन सक्ने भएकोले सफा गरेर पुनःप्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालकी कार्यक्रम संयोजक शीला देवकोटाले जानकारी दिनुभयो ।

चितवनको ईच्छाकामना गाउँपालिका र मकवानपुरको मनहरी गाउँपालिकाका ५ सय जना छात्रालाई उपलब्ध गराइएको महिनावारी सुरक्षा सामग्रीमा साबुन, ब्रस, मन्जन, भित्रि कपडा, पुनःप्रयोग गर्न मिल्ने प्याड, नेलकटर, काइँयोलगायतका सामग्री छ । हेल्पकोडले पशुपतिनाथ माविमा रहेको बाल क्लबका लागि खेलसामग्रीसहित सूचना बोर्ड, स्टेशनरी पनि उपलब्ध गराएको छ ।

कोभिड–१९ महामारीको बीचमा पठनपाठन गर्न सहज बनाउनका लागि संस्थाले विद्यालयलाई मास्क, सेनिटाइजर, साबुनलगायत सामग्री पनि उपलब्ध गराइएको हेल्पकोड नेपालका कर्मचारी विकास चेपाङले जानकारी दिनुभएको छ । सेन्सरमा आधारित अटोमेटिक सेनिटाईज मेसिनसहित सेनिटाईजर उपलब्ध गराइएको हो । स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा मनहरी–४ का वडासचिव बिदुर पाठक, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक ईश्वर रिजाललगायतले गैरसरकारी संस्थाले सामुदायिक विद्यालयका बालबालिकाका लागि महत्वपूर्ण काम गरेको जानकारी दिनुभयो । हेल्पकोड नेपालले मनहरी–४ को चेपाङ प्रावि र सृजना प्राविमा पनि सहयोग गरिरहेको छ ।

Exit mobile version