Home मुख्य समाचार कोभिड–१९ का कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित

कोभिड–१९ का कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित

हेटौंडाः कोभिड–१९ को संक्रमणका कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित बनेको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले कोभिडका कारण पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना प्रभावित भएको बताउनुभएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रस्तावित पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको विषयमा हेटौंडामा आयोजना गरेको छलफलमा भर्चुअल माध्यममार्फत कार्ययोजना बारे जानकारी गराउनुहुँदै सहसचिव अधिकारीले कार्ययोजना कार्यान्वयनका लागि जिल्ला र स्थानीय तहमा समिति नै गठन हुन नसकेको पनि बताउनुभएको छ । यस्तै मुख्य सचिवको अध्यक्षतामा रहेको कार्यान्वयन तथा अनुगमन समितिले ६ महिनामा बस्नुपर्ने बैठक समेत नियमित बस्न नसकेको पनि अधिकारीको भनाइ छ । प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा मानव अधिकारको अवस्था र भावी योजना पनि बनाउन नसकिएको अधिकारीले बताउनुभएको छ । इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएर ५ वर्ष सञ्चालन हुने कार्ययोजनाले मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्दै विधिको शासन कायम राख्ने उद्देश्य लिएको छ । यस्तै संविधान तथा कानुनले प्रत्याभूत गरेको अधिकारको उपभोग सुनिश्चित गर्ने, मान अधिकारप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्दै मानव अधिकार संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य पनि कार्ययोजनाको रहेको छ ।

Exit mobile version