Home मुख्य समाचार सुरक्षित नागरिक आवास कार्यक्रम, मकवानपुरमा ६७३ घरमा खरको छानो फेरिँदै

सुरक्षित नागरिक आवास कार्यक्रम, मकवानपुरमा ६७३ घरमा खरको छानो फेरिँदै

हेटौंडाः नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा छ सय ७३ विपन्न परिवारको घरको छानो फेरिने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, ईन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा छ सय ७३ घरमा खरको छानो विस्तापित गरेर जस्ताको छानो लगाइने भएको हो ।

आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका छ सय ७३ लाभग्राही संख्या निर्धारण भएको हो । आर्थिक वर्ष २०७६/०७७ मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाईरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरता दिन लागिएको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको वडा नम्बर १, ३, ११ र १९ मा एक सय घर, भीमफेदी गाउँपालिकामा ५० घर, कैलाश गाउँपालिकामा ७५ घर, मकवानपुरगढी गाउँपालिकामा ५० घर, मनहरी गाउँपालिकामा एक सय घर, राक्सिराङ गाउँपालिकामा एक सय ७३ घर र ईन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणका लागि निर्धारण गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्प पुनर्निर्माणमा नपरेका परिवारले मात्र यो सुविधा प्राप्त गर्ने छन् । बैठकमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यविधिको संशोधन तथा यसका व्यवस्थाका बारेमा जानकारी दिनुका साथै सो सम्बन्धमा छलफल समेत भएकोे थियो । बैठकले कार्यविधिमा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७६/०७७ को क्रमागत कैलाश, मकवानपुरगढी र मनहरी गाउँपालिकामा छनौटको निर्णय हुन बाँकी लाभग्राही छनौट गर्न तथा आव २०७७/०७८ मा स्वीकृत संख्याको लाभग्राही छनौटका लागि १५ दिने सूचना जारी गरेर सर्वेक्षण विवरण तयार गरी सघन शहरी तथा भवन कार्यालयमा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको संयोजनमा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सम्बन्धित गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।

Exit mobile version