Home मुख्य समाचार ३१ स्थानीय तहको प्रहरीसम्बन्धी गुनासो तथा सुझाव संकलन

३१ स्थानीय तहको प्रहरीसम्बन्धी गुनासो तथा सुझाव संकलन


हेटौंडाः बागमती प्रदेशको ३१ वटा स्थानीय तहमा राखिएको गुनासो पेटीबाट गुनासो तथा सुझावहरु संकलन गरिएको छ । गएको कात्तिक महिनामा बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुसंग परेको सम्बन्धित गुनासो तथा सुझावहरु संकलन गरेको हो ।

प्रदेश प्रहरी कार्यालयले चितवनबाट २ वटा, मकवानपुर, दोलखा, सिन्धुलीबाट एक एक वटा गरी ५ वटा गुनासो संकलन गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेश प्रहरी कर्यायले आम नागरिकबाट प्राप्त सल्लाह, सुझाव तथा गुनासोलाई संकलन गरेर प्रदेश प्रहरी कार्यालयमा ल्याउने र त्यसको कार्यान्यवन गर्ने गरिएको छ । यसअघि असोज महिनामा प्रदेश प्रहरी कार्यालयले मकवानपुर र धादिङबाट ६ वटा गुनासो संकलन गरेर त्यसको कार्यान्वयन समेत भएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जानकारी गराउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालयले प्रथम चरणमा असोज १ गतेदेखि प्रदेशको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिकाको ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको थियो ।

यस्तै दोस्रो चरणमा अब ६७ वटा गाउँपालिका र तेस्रो चरणमा बागमती प्रदेशका ८ सय ७४ वटै वडामा गुनासो तथा सुझाव पेटिका राखिने भएको छ । आम नागरिक तथा स्थानीय तहका नागरिकहरुले बागमती प्रदेशका कुनै पनि प्रहरीसँग गुनासो भएमा सुझाव पेटीका तथा सोझै प्रदेश प्रहरी प्रमुखसँग पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

Exit mobile version