Home मुख्य समाचार मनहरीमा पुल सरोकार समिति गठन, नागरिकको निगरानी सकारात्मकः अध्यक्ष उप्रेती

मनहरीमा पुल सरोकार समिति गठन, नागरिकको निगरानी सकारात्मकः अध्यक्ष उप्रेती

मनहरीः मनहरीका सचेत नागरिकहरुको छलफलले गाउँपालिका क्षेत्रका विभिन्न नदी र खोलाहरुमा निर्माण हुन लागेको ५ वटा पक्की पुलको गुणस्तरको निगरानी राख्न पुल सरोकार समिति गठन गरेको छ । ठेक्का प्रक्रियामा गएका ५ वटै पुलको निर्माण प्रक्रियामा पारदर्शिता अपनाउन तथा गुणस्तर कायम गराउन दबाव दिन दीपेन्द्र अधिकारीको संयोजकत्वमा पुल सरोकार समिति गठन गरिएको हो ।

दीपेन्द्र अधिकारी, संयोजक, पुल सरोकार समिति

समितिमा मनहरी गाउँपालिका वडा नम्बर १ देखि ५ नम्बरसम्मका नागरिकहरुलाई समेटिएको संयोजक अधिकारीले जानकारी दिनुभएको छ । समितिमा भीमसेन अधिकारी, बिमल स्याङ्तान, चन्द्रबहादुर राई, सरोज अर्याल, सुरेन्द्र घलान, होतप्रसाद अधिकारी, रवि उप्रेती, रामहरि बिष्ट, श्रीकृष्ण ढकाल, सुरेन्द्रकुमार तितुङ, नानीबाबु थापा गोदार, कृष्णप्रसाद पौडेल, बालमुकुन्द ढकाल र राजन पाण्डे रहनु भएको छ । समितिले निर्माण कम्पनीले गर्ने कामको निगरानी गरी गुणस्तरीय काम गराउन आवश्यक निगरानी गर्ने जनाइएको छ ।

मनहरी गाउँपालिकाले ट्वांग्रा खोला, मसिने खोला, हाँडीखोला, च्यापल खोला लगायतका स्थानहरुमा पक्की पुलको ठेक्का सदर गरिसकेको छ । अब छिट्टै नै पुल निर्माण कार्यले गति लिने मनहरी गाउँपालिकाले जनाएको छ । बढीमा २४ महिनाभित्र हस्तान्तरण हुने गरी ५ वटै पुलको निर्माण कम्पनिसँग सम्झौता प्रक्रिया अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाले आफ्नै स्रोतबाट ५३ करोड लागत अनुमानसहित टेण्डर आव्हान गरेको ५ वटा पुलको निर्माणका लागि निर्माण कम्पनिहरुले ३३ करोडमा ठेक्का कबोल गरेका छन् ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले नागरिक समाजको तर्फबाट निगरानी समूह गठन हुनु सकारात्मक भएको बताउनुभएको छ । उहाँले पुल निर्माणको कार्यको अनुगमन गर्न निजीक्षेत्रबाटै परमार्श कम्पनिसँग सम्झौता गर्ने अवधारणामा पनि पालिका रहेको बताउनुभएको छ । चालु आर्थिक वर्षमा ठेक्का सम्झौता गरेर काम अघि बढाउन पालिकाले ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘पुल निर्माणका लागि प्रदेश र संघीय सरकारको सहयोग लिने प्रयास पनि गर्छौं ।’

Exit mobile version