Home मुख्य समाचार क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिम

क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिम

सञ्चारिका समूहले बागमती प्रदेशभरका क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिमको आयोजना।

हेटौंडाः सञ्चारिका समूहले बागमती प्रदेशभरका क्रियाशील पत्रकारहरुका लागि भर्चुअल माध्यमबाट तीन दिने तालिमको आयोजना गरेको छ । विभेदपूर्ण लिङ्ग छनोटको रोकथाम र अन्त्यका लागि सामाजिक सचेतना अभियान अन्तर्गत समूहले बुधबारबाट तालिमको आयोजना गरेको हो । समूहले स्थापनाको २५ वर्षदेखि पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका साथै महिलाका मुद्दालाई सञ्चार माध्यमबाट मूल प्रवाहीकरण गर्दै आइरहेको छ ।

बुधबार तालिमको उद्घाटन गर्नुहुँदै सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले विभेदपूर्ण लिङ्ग छनोटको रोकथाम र अन्त्यका लागि पत्रकारहरुले आवाज उठाउनु पर्ने कुरामा जोड दिनुभयो । महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिकी सदस्य बन्दना राणाले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । उहाँले लैङ्गिक समानता के हो ? लैङ्गिक विभेद देखिने स्थितिहरु, समता र समानता, महिला भएर चुकाउनुपर्ने मूल्य, छोराको चाहना किन ? विभेदपूर्ण लैङ्गिक छनोटको प्रवृत्ति रोकथाममा पत्रकारहरुको भूमिका कस्तो हुनुपर्छ जस्ता विषयमा छलफल गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा १० वर्षपछि महिलाको संख्यामा कमि आयो भने कस्तो अवस्था आउला ? पत्रकारिताको माध्यमबाट कसरी महिलाको पहूँचलाई अघि बढाउन सकिन्छ ? भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा प्रदेशभरका उपस्थित सबै पत्रकारहरुले आ–आफनो धारणा समेत राखेका थिए । भर्चुअल कार्यक्रममा बागमति प्रदेशका वरिष्ठ पत्रकार, क्रियाशील पत्रकार तथा सञ्चारिका समूहका पदाधिकारहरुको उपस्थिती रहेको थियो । बिहीबार बागमति प्रदेशका महिला अधिकारकर्मी सविन श्रेष्ठले र शुक्रबार सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले तालिममा सहजीकरण गर्नुहुनेछ ।

Exit mobile version