Home अन्तरवार्ता ‘स्वतन्त्र व्यक्तिहरुले नागरिक समाजलाई अगाडि बढाउनु पर्छ’

‘स्वतन्त्र व्यक्तिहरुले नागरिक समाजलाई अगाडि बढाउनु पर्छ’

मदनकुमार दाहाल, अधिवक्ता

डा. गोविन्द केसीले जनताको स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारलाई जति दबाव सिर्जना गरेको छ, त्यति दबाव प्रमुख प्रतिपक्षी र अन्य प्रतिपक्षी दलहरुले सिर्जना गर्न सकेको छैन । एक्ला प्रतिपक्षी जस्तै देखिनुभएका डा. केसीले नागरिक समाज या एकजना नागरिकको शक्ति कति हुन्छ भन्ने बुझाइरहनु भएको छ । स्वास्थ्य मात्रै होइन यतिबेला सरकारलाई खबरदारी गर्न र जनताको पक्षमा काम गर्न अनेकौं विषयमा खबरदारी गर्नु जरुरी छ । हिजो प्रजातन्त्र पुनःस्थापनाका लागि होस् या लोकतन्त्र हुँदै गणतन्त्रसम्म स्थापित गर्न नागरिक समाजको भूमिका महत्वपूर्ण रहँदै आएको थियो । सरकारको खबरदारी गर्नुपर्ने नागरिक समाज यतिबेला उपस्थिति समेत जनाउन सकिरहेको छैन । नागरिक समाजको उपस्थिति र भूमिकाका विषयमा अधिवक्ता मदन कुमार दाहालसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नागरिक समाजको उपस्थिति र नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ ?
दाहालः निश्चित रुपमा नागरिक समाजको आवश्यकतालाई हेर्दाखेरी लोकतान्त्रित गणतन्त्रमा छौं, राजनीतिक पार्टीहरु छन् र मान्छेहरु पार्टीहरुमा पनि छन् । विशेष चाहीँ पाटी र पार्टीबाट मात्र सबै कुरा समेटिँदैन । राजनीतिक कुराहरु हुन्छ । स्वार्थ हुन्छ । त्यसले गर्दा आम मानिसको हितका कुराहरु, आम मान्छेलाई मर्का परेका विषयहरु नागरिक समाजले उठाई दिनुपर्छ । नागरिक समाज भनेको यही समाजको एउटा हिस्सा पनि हो । कहीँ भोट हाल्ने मान्छे पनि हो । तर उहीहरुले निष्पक्ष रुपमा कसैको पनि पक्षमा नलागी निष्पक्ष रुपमा उठान गरिदिन्छ भन्ने मान्छेमा विश्वास रहन्छ । नागरिक समाजले कुुनै विषय उठाइयो भने यो स्वतन्त्र संस्था हो भन्ने हिसाबले मान्छेले बुझ्छन् । तर अहिले के देखिराखेको छ भन्नुपर्दा कतै न कतै मान्छेहरु राजनीतिक आस्थासँग नजिक देखिन्छ । त्यो कारणले नागरिक समाजको भूमिकालाई निष्पक्ष रुपमा अगाडि बढाउन सकेन भन्ने गुनासो अत्यधिक छ । हिजो आन्दोलनको समयमा यसको अत्यधिक महत्व पनि थियो । यसको भूमिका र विशाल नागरिक समाजको हामीले अस्तित्वमा देखेका थियौं । अहिले विस्तारै विस्तारै हाम्रो जिल्लामा पनि नागरिक समाजको उपस्थिति हराएको छ ।

समाजः मकवानपुर जिल्लामा नागरिक समाजको उपस्थिती अवस्था कस्तो देख्नु हुन्छ ?
दाहालः अहिले नागरिक समाजको उपस्थिति छैन भन्दिनँ । एउटा स्वतन्त्र हिसाबले कार्य गर्ने राष्ट्रियस्तरका संस्थाहरु पनि छन् । उही नागरिक समाजका लागि गठन भएका संस्थाहरु पनि छन् । तर, नागरिक समाजले उठान गरेको विषयहरुको पहिचान र त्यसलाई सही समय हरेक विषयमा चाही एउटा निष्पक्ष ढङ्गले ल्याउने कुरा खड्किएको देखिराखेको छु ।

समाजः नागरिक समाजको समस्या के हो ? दलसँगको आवद्धता नै हो या नागरिक समाजको प्रतिनिधित्व गर्ने संस्था अद्यावधिक हुन नसकेको हो ? जसले जनताका विषय उठान भइरहेको छैन ।
दाहालः एउटा दलमा आवद्ध व्यक्तिले पनि कहिलेकाहीँ आफ्नै दलको विपक्षमा बोल्नुपर्ने हुनसक्छ । नागरिक समाजको नेतृत्व कसले गरिराखेको छ भनेर हेर्‍यौं भने हामी सम्भवतः कुनै न कुनै दलमा आवद्ध व्यक्ति देख्छौं । त्यसैले गर्दा आफू आवद्ध दलको कुरा आयो भने अलि मौन भएको आरोप लाग्न सक्छ । अर्काे यो खुला खालको सञ्जाल पनि हो । भोलि कुनै पद प्राप्ति हुने पनि होइन । केही एउटा सक्रियता जति ल्याउन सक्यो त्यसले एउटा व्यक्तित्व, समाज हितको निम्ति काम हुने हो । त्यस कारणले गर्दा मान्छेले एकाध घटनामा चासो दिने गर्दछ । नागरिक समाजको संरचना दीर्घकालीन रुपमा नरहने हुँदा सक्रियताभन्दा निक्रियता बढी देखिन्छ ।

समाजः नागरिक समाजको उपस्तिथि नहुँदा अहिले हाम्रो राज्य व्यवस्था, शासन व्यवस्था र आम नागरिकले दैनिक जीवन र उनीहरुको जीविकामा कस्तो असर परिराखेको देख्नु हुन्छ ?
दाहालः यो निश्चित छ । यसमा २/४ कुरामा असर देखिन्छ । जस्तो राज्य सञ्चालकले जहिले पनि राम्रोसँत सञ्चालन गरेको छु, मैले गरेको कुरा ठिक छ भन्ने हुन्छ । व्यवसायीले आफूले गरेको एकदम राम्रो भन्ने हुन्छ । त्यसमा कुनै पनि खोट छैन । जनुजुन पेशाकर्मी छौं । सबैले आफ्नो पेशा राम्रो देख्छ । त्यो भित्र त्यसले गरेका गतिविधिहरु आम मान्छेलाई कहाँकहाँ असर गरेको, कहाँ दुःख पाएका छन्, कहाँ नकारात्मक कुराहरु सिर्जना भएको छ भन्ने कुरा देखाई दिने काम नागरिक समाजको हो । त्यसको खबरदारी गरदिने नागरिक समाजले हो । अहिले हामी नागरिक समाज हुँदाखेरी निष्पक्ष रुपमा त्यस्ता कुराहरु उजागर गरिदिने अवस्था रहन्छ । तर, अहिले नागरिक समाज निष्क्रिय रहँदा जनताका कुरा उठान हुने भएन । त्यस कारणले असर पक्कै पनि छ ।

समाजः अहिले हामी नागरिक समाजको परिकल्पना गर्ने र सक्रिय नागरिक समाजको उपस्थितिका लागि के कुरा खट्की राखेको अथवा के समस्या हो भन्न सक्छौं ?
दाहालः खट्केको कुरा भन्नुपर्दा क्षेत्रगत कुरा गर्‍यो भने अहिले पनि हामीले प्लेकार्डहरु बोकेर खबरदारीका कुराहरु हरेक दिन बुद्धचोकमा देख्नुहुन्छ । यसको समर्थनमा विरोधमा भनेको हुन्छ । हेर्दाखेरी नागरिक समाज जस्तो देखिन्छ । तर त्यहाँ आउने पात्रहरु हेर्छौं । विषय अनुसार पात्र फरक आउँछन् । कसैको नाम आउँदाखेरी एउटा पात्र आउँछ । कसैको आउँदा अर्काे पात्र आउँछ । त्यो नै नागरिक समाजको निम्ती दुःखद् कुरा हो । त्यहाँ आउने पात्रहरु हरेक विषयमा एउटा स्वतःस्फूर्त र समाजले पचाउन सक्ने, यो एउटा राज्यले, व्यवस्थाले अथवा कुनै पनि संघसंस्थाले स्थानीय तह हुन सक्छ, सरकार हुनसक्छ । कसैले गरेका एउटा नकारात्मक कुराले गर्दा मान्छेहरुले परेको असरको बारेमा बोल्ने विषयमा सबैको निम्ती सामान्य एजेण्डाहरु हुनुपर्ने, हामीले विरोध गर्ने उठाउने नागरिक हरेक दिन फरक देख्ने एउटा विडम्बना कुरा हो । यसलाई वृहत् सोच भएका मानिसहरुले नेतृत्व गर्नुपर्छ ।

समाजः मकवानपुर जिल्लाको सन्दर्भमा त्यो सम्भावना कतिको देख्नुहुन्छ ?
दाहालः त्यो सम्भावना छैन भनेर हामीले निरास हुनुभन्दा पनि अब नागरिक समाजको हिसाबले अघि बढ्ने व्यक्तिहरु कम्तीमा राजनीतिक दलसँग सिधा आवद्ध भएर एउटा कमिटी प्रणालीमा लागि सकेको व्यक्तिहरुले म नागरिक हुँ भनेर प्लेकार्ड बोकेर अगाडि नआइदिँदा हुन्छ । त्यसमा हामीले जति निष्पक्ष कुरा गरेपनि कहीँ न कहीँ राजनीतिक कुरा जोडिन्छ जस्तो लाग्छ । राजनीतिमा लागेका मानिसको भूमिकै रहँदैन भन्दिनँ । त्यसबाट नेतृत्वदायी भूमिकाबाट बाहिर दिनुपर्छ । एउटा स्वतन्त्र विचार, धारणा राख्न सक्ने व्यक्तिहरुको नेतृत्वमा सबै रजनीतिक दलभित्र राम्रो हुनुपर्छ भन्ने छन् । सबै मान्छेहरुले दलको ट्याग जरुरी छैन । उनीहरुलाई समेटेर स्वतन्त्र व्यक्तिहरुले नागरिक समाजलाई अगाडि बढाउनु पर्छ ।

Exit mobile version