Home अर्थ/व्यापार दसैंमा नेपाल बैंक हेटौंडा शाखाले नयाँ नोट वितरण नगर्ने

दसैंमा नेपाल बैंक हेटौंडा शाखाले नयाँ नोट वितरण नगर्ने


हेटौंडाः यसपालिको वडा दसैंमा नेपाल बैंक हेटौंडा शाखाले नयाँ नोट वितरण नगर्ने भएको छ । गएको वर्षहरुमा दसैंमा पुरानो नोट लिएर नयाँ नोट साट्दै आएको नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंकले यसपालि भने कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण दसैंमा नयाँ नोट वितरण नगर्ने जनाएको छ ।

हेर्टौंडामा पनि दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । भीडभाड धेरै हुने हुँदा स्वास्थ्यका दृष्टिकोणले पनि यो वर्ष नयाँ नोट उपलब्ध नगराइने भएको हो । अहिलेको अवस्था कोरोना भाइरसको कारण सामान्य नरहेको भन्दै नयाँ नोट वितरण नगरिने भएको नेपाल बैंक हेटौंडा शाखाका प्रबन्धक यमनाथ दाहालले बताउनुभयो । दसैंमा मानिसहरुले नयाँनोटले पुजाआजा गर्ने तथा दक्षिणा दिने चलन छ । यस्तै नयाँ नोट साट्न सर्वसाधारणहरुको बैंक अगाडि ठूलै भीडभाड हुने गरेको थियो । भिडभाड धेरै हुँदा कोरोनाको जोखिम धेरै हुने भएकाले यसपालि नयाँ नोट नसाटिने भएको उहाँले बताउनुभयो

नेपालमा अहिले प्रचलनमा ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ, १ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ रहेका छन् । यसअघि मकवानपुरमा नेपाल बैंकले प्रचलनमा रहेका नोटहरु पुरानो नोटसँग साट्ने गरेको थियो । यस्तै नेपालमा प्रचलनमा नरहेका १ रुपैयाँ, २ रुपैयाँ, २५ रुपैयाँ, २ सय ५० रुपैयाँ पनि छन् । यस्तो नोटहरु भने कुनै विशेष समारोहमा सरकारले छाप्ने गरेको छ । त्यस्तै सिक्काहरुमा १ रुपैयाँको सिक्का, २ रुपैयाँको सिक्का, ५ रुपैयाँ र १० रुपैयाँको सिक्काहरु नेपालमा प्रचलनमा छन् भने १ पैसा, २ पैसा, ५ पैसा, २५ पैसा, ५० पैसा प्रचलनमा हाल छैनन् । कोरोना महामारीको अवस्थामा सरकारले यो वर्ष आफ्नै घरमा बसेर चाडपर्व मनाउन भनेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले पनि नयाँ नोट वितरण गर्ने, नगर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।

Exit mobile version