Home मुख्य समाचार मोडल युनाइटेड नेसन्स (मुन) को अनुभव

मोडल युनाइटेड नेसन्स (मुन) को अनुभव

नसुनेको कुरा, थाहा नभएको विषय… एक्कासि विद्यालयमा हामीभन्दा अलि ठूला दाईदिदी भन्न सुहाउने ३–४ जना आउनुभयो । कुरा सुन्दै र बुझ्दै जाँदा उहाँहरू युथ थिङ्कर्स सोसाइटी चितवनबाट हुनुहुँदो रहेछ । उहाँहरू आएर हामीलाई नमूना संयुक्त राष्ट्रसंघ अर्थात मोडल युनाइटेड नेसन्स (मुन) बारे आवश्यक जानकारी दिएर जानुभयो । त्यसपछि हामी भाग लिएर तयार भयौँ अनि सिमुनका लागिÞ लगातार पुग्यौँ, दुई वर्ष चितवन । यस वर्ष भने शारीरिक रूपमा भेला भएर कार्यक्रम गर्न कोरोनाले दिएन । दुई वर्षको अनुभवका कारण हामी विद्यार्थीहरू पनि मुनका बारेमा जानकार नै थियौँ ।

इलिशा पराजुली

त्यसैकारण पनि हामी आफैँले विद्यालयबाट नै भर्चुअल रूपमा मुन गर्ने सोच्यौँ र कार्यक्रम गर्ने निर्णय भयो, एनमुन कार्यक्रम विद्यालयले नै गर्ने । त्यही माथि पनि हामी विद्यार्थीले नेतृत्व गर्ने कुरा शिक्षक टोलीको बैठकबाट बाहिरियो । मुन गर्नका लागि मूर्त, अमूर्त रूपमा धेरै व्यक्ति चाहिन्थ्यो । तर, कमिटिमा गरिने छलफलमा मुख्य भूमिकामा डायस (कमिटिको नेतृत्वकर्ता) र डेलिगेट्स (पार्टिसिपेन्ट्स्) नै हुन्छन् । डेलिगेट्स त विद्यालयकै विद्यार्थी हुन्छन् तर डायस कहाँबाट ल्याउने भन्ने कुरा उठ्यो । तर, शिक्षकहरूको साथ हरेक काममा मिल्ने भएर होला ‘तिमीहरूले नै सक्छौँ’ भनेपछि हामी पनि पछि हटेनौँ र डायसको छनौटमा म लगायत मेरा साथीहरू गयौँ ।

भाग्यवस् हामी छनौट भएछौँ । त्यसपछि जिम्मेवारीका साथ यात्रा सुरू भयो नवोदय मोडल युनाइटेड नेसन्स (एनमुन) को…. । हामीले छनौट भइसकेपछि अब डेलिगेट्सका लागि पनि फारम खोलिदियौँ । विद्यार्थीहरूले फारम भर्दै गए र हामीले प्रशिक्षण कक्षाहरू सुरू गर्‍यौं । हाम्रो विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउँदै गइरहेका थिए । प्रशिक्षणपछि हरेक दिन हाम्रो बोर्ड बैठक पनि भइरहेको थियो । ‘हामीले अहिलेसम्म गरेका कार्यक्रमहरू जतिपनि छन्, ती सबैमा बाहिर विद्यालयका विद्यार्थीहरूले सधैं सहभागिता जनाउँथे, यस पालि पनि अरू विद्यालयलाई चाहिँ किन छुटाउने ? भनेर बैठकमा तरङ्ग उठ्यो ।

एकजनाबाट उठेको कुरालाई हामी सबैले सहभागिता जनायौँ र अरू विद्यालयलाई नि हाम्रो कार्यक्रममा संलग्न गराउने निर्णय भयो । भोलिपल्ट विभिन्न विद्यालयमा निमन्त्रणा पठाइयो । पर्सिपल्टबाटै विद्यालयबाट विद्यार्थीहरू आउन थाले, मकवानपुर, चितवन, बारा… अन्य ठाउँबाट । त्यसपछि सबै विद्यार्थीहरूको समग्रमा दिनदिनै प्रशिक्षण सुरू भयो ।

यही असोज १५, १६ र १७ गतेका दिन कार्यक्रम हुने निधो भयो र व्यानरहरू विद्यालयको फेसबुक पेजबाट बाहिरियो । १४, १५ दिनको प्रशिक्षण पश्चात् अब एनमुनको मिति छ । मुनका लागि छनौट गरिएको सेक्रेटरी, डायसहरू अनि प्रेसका विद्यार्थीहरू कार्यक्रम तयारीमा व्यस्त छन् । डेलिगेट्सहरू रिसर्चमा मस्त । नवोदयमा पहिलो एनमुनको माहोल छ ।

नवोदय शिशु सदन, कक्षा १०

Exit mobile version