Home अन्तरवार्ता ‘साहित्य सिर्जना गर्दैगर्दा हामीले धेरै सिक्न सक्छौं’

‘साहित्य सिर्जना गर्दैगर्दा हामीले धेरै सिक्न सक्छौं’

निश्चल राज गौतम, कार्यवाहक अध्यक्ष, सुनौलो बिहानी समूह

केही समययता विद्यालयमा अतिरिक्त क्रियाकलापको अभ्यासमा विद्यालय परिवार, अभिभावक र सरोकारवालाको ध्यान केन्द्रित भइरहेको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत पनि साहित्यिक क्रियाकलाप प्राथमिकतामा परिरहेको देखिन्छ । विद्यालयले विद्यार्थीलाई साहित्य रचना र प्रस्तुतीमा मात्रै नभएर त्यस्ता कार्यक्रमको व्यवस्थापन, सञ्चालनमा पनि जिम्मेवारी दिने गरेको छ । हेटौंडा–५ स्थित जिएस निकेतन माविले विद्यार्थीको सुनौलो बिहानी समूह गठन गरेर साहित्यिक क्रियाकलाप गरिरहेको छ । विद्यालयमा साहित्यिक क्रियाकलापकै विषयलाई लिएर सुनौलो बिहानी समूहका कार्यवाहक अध्यक्ष निश्चल राज गौतमसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः सुनौलो बिहानी समूहले के कस्ता साहित्यिक क्रियाकलापहरु, के–कसरी गरिराखेको छ ?
गौतमः हामीले अग्रज साहित्यकारहरुको सम्झनामा कार्यक्रमहरु गर्ने गरेका छौं । कविता, कथा लेख्न प्रतियोगिताहरु गर्दै आएका छौं । अहिले हामी कोभिड–१९ को महामारी छौं । त्यसैले भर्चुअल रुपमा हामी जोडिरहेका छौं । अहिले हामीले विभिन्न साहित्यकारहरुको सम्झनामा कार्यक्रम गर्ने गरेका छौं ।

समाजः अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्यिक समूहमा सहभागी भएर विद्यार्थीको औपचारिक अध्ययनमा के–कस्तो खालको सहयोग पुगेको छ ?
गौतमः एकदमै सहयोग पुगेको छ । किन कि हामी विद्यार्थी हौं । विद्यार्थी भइसकेपछि हामीले यो साहित्य सिर्जना गर्दैगर्दा हामीले धेरै सिक्न सक्छौं । जस्तै हामीले आफ्नै पाठ्यक्रममा पनि कुनै प्रश्नोत्तर लेख्दाखेरी साहित्यिक कुराहरु आयो भन्ने हामीलाई एकदमै सजिलो हुने गरेको छ । तार्किक उत्तर, भाव विस्तार लगायतका यावत कुराहरुमा हामीलाई एकदमै सहयोग पुगेको छ ।

समाजः सुनौलो बिहानी समूहमा कति विद्यार्थीहरु सहभागी छन् ? साहित्यिक गतिविधीमा कुन उमेर, कक्षा समूहका विद्यार्थी सहभागी हुन पाउँछन् ?
गौतमः सुनौलो बिहानी समूहको समितिमा हामी १५ जना छौं । त्यति मात्र नभएर अरु १६ वटा समूहहरु छन् । अतिरिक्त क्रियाकलापका समूहहरुमा धेरै विद्यार्थीहरु जोडिएका छौं । हामीले आयोजना गर्ने कार्यक्रमहरुमा भने कक्षा ४, ५, ६ देखिका भाईबहिनीहरुलाई जोड्ने गरेका छौं । त्यति मात्र नभएर अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि सम्भव भएसम्म हामीले कार्यक्रमहरुमा जोडिरहेका छौं ।

समाजः तपाईहरुका लागि विद्यालयले, शिक्षकहरुले के–कसरी सहजीकरण गरिराख्नु भएको छ ?
गौतमः हामीलाई अतिरिक्त क्रियाकलाप प्रमुख आदरणीय दिपक गुरु, विद्यालयका प्रधानाध्यापक ईश्वर सरलगायत अन्य शिक्षकहरुले हामीलाई मोटिभेट गरिरहनु हुन्छ । हामीले केही सहयोग चाहिएको खण्डमा उहाँहरुले सहयोग पनि गर्नुहुन्छ । जस्तै हामीले यो भैरव अर्याल विशेष कार्यक्रममा एउटा सम्मान कार्यक्रम राखेका थियौं । आदरणीय आसी रिजाल सरलाई सम्मान गर्दै नगद १० हजार १ सय रुपैयाँ हाम्रो विद्यालयले प्रदान गरेको छ । हाम्रो आयोजनामा उहाँलाई सम्मान कार्यक्रम गरिएको थियो । यसरी नै हाम्रो विद्यालय तर्फबाट पनि सहयोगहरु मिलिरहेको छ ।

समाजः परिवारको तर्फबाट, परिवारका सदस्यहरुबाट तपाईहरुलाई कस्तो सहयोग प्राप्त भइराखेको छ ? यो साहित्यिक गतिविधिमा लागेर तपाईका अभिभावकहरु, दाई–दिदीहरु कति सन्तुष्ट हुनुहुन्छ ?
गौतमः एकदम सन्तुष्ट हुनुहुन्छ । किन कि मेरो बाबा, मेरो दिदी पनि साहित्यिक क्रियाकलापहरुमा संलग्न हुनुहुन्छ । उहाँहरु पनि साहित्यमा सक्रिय हुनुहुन्छ । विभिन्न साहित्यिक रचना लेख्नु हुन्छ । उहाँहरुले हामीलाई एकदम मोटिभेट गर्नुहुन्छ । साहित्यमा लाग्नुपर्छ, साहित्यले समाजलाई परिवर्तन गर्न सक्छ भन्नुहुन्छ । सहित्यमा लाग्दै गर्दाखेरी विभिन्न कुराहरु साहित्य मार्फत हामीले एउटा समाज परिवर्तनका कुराहरुलाई जोड्न सक्छौं । अभिभावक र दाईदिदीहरुबाट सहयोग हुन्छ । र हामी एकदमै खुसी छौं ।

समाजः सुनौलो बिहानी समूहमा रहेर गरिएको अनुभवको आधारमा अरु के के गर्न सकिन्छ भन्ने लागेको छ ?
गौतमः सुनौलो बिहानी समूहका कोर कमिटीमा हाम्रो एउटा समूह छ । हामीले साना भाईबहिनीहरुलाई पनि जिम्मेवारी दिएर साहित्यिक कार्यक्रम गरिरहेका हुन्छौं । हामी आफैं र साना भाइबहिनीहरुलाई राष्ट्रियस्तरमा एउटा एक्सपोजर दिन सक्यौं भनेदेखि अझ राम्रो हुन्छ भन्ने लागिरहेको छ । र हाम्रो आदरणीय गुरु दिपक सर साहित्यिक प्रशिक्षण कार्यक्रमहरु पनि गरिरहनु भएको छ । त्यसको कारणले गर्दा पनि एकदमै कक्षा ६ र ७ कक्षाका भाईबहिनीहरुलाई पनि बाहिर राष्ट्रियस्तर कार्यक्रममा जोडिएका छन् ।

Exit mobile version